सुर्खेतमा व्यवसायिक ड्रागन फ्रुटको खेती

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक व्यवसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यवसायिक खेतीको सुरुवात गरेको हो । करिव ७० लाखको एकल लगानीमा २८ कठ्ठा जमिन भाडामा लिएर फर्मले ड्रागन फ्रुटको खेती गर्दै आएको हो ।
गत वर्षदेखि सुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिसकेको छ । हालसम्म एक कुन्टल बढी ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पद्मा रावतले जानकारी दिइन् । अहिले फर्मबाटै बिक्री भइरहेको उनले जानकारी दिइन् । उनका श्रीमान वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेका थिए । तर वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहेकी छन् ।
‘यस खेतीका लागि बेर्ना भारतको गुजरातबाट ल्याइएर लगाइएको हो । यसले अब उत्पादन दिन थालेको छ,’ उनले भनिन्, ‘यही खेतीलाई अब व्यवसायीक बनाउन लागिपरेको छु ।’ ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमा प्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको छ ।
एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुनेमा अनुमान गरिएको छ । ड्रागन फ्रुटको प्रति केजी मूल्य आठ सय रुपैयाँ छ । भाडाको जग्गामा हाल दुई हजार ६ सय ड्रागन फ्रुट लगाइएको छ । ड्रागन फ्रुट बिक्रीसँगै विरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको छ ।
यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले फर्मले सञ्चालन गरेको ड्रागन फ्रुटको आज उद्घाटन गरेका छन् । फर्ममा पुगेका मन्त्री शाहीले यस्तै पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्र व्यवसायिक हुने बताएका छन् । उनले ड्रागन फ्रुट उत्पादनपछि विक्रीको समस्या नहुने तर समस्या भएमा सरकारले सहजिकरण गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया