'साना किसान सबल भए मात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ'

काठमाडौँ- कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले किसानलाई उत्पादनसँगै उत्पादित वस्तुको सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए । किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैँले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानलाई सँगसँगै अगाडि बढाए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसान नै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले नेपालका दूरदराजका गरिब किसानको जीवन रूपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताए । ग्रामीण क्षेत्रमा साना किसानले भोगिरहेको आर्थिक समस्यालाई निदान गर्ने एकमात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको उनले जिकिर गरे । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना किसानलाई गोलबद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए ।
लघुवित्तको २१औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पुर्याउने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरिएको थियो ।
साना किसान विकास आयोजनाका रुपमा विसं २०३२ देखि कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विसं २०५८ मा साना किसान विकास बैंकका रूपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रूपमा साना किसान सहकारीलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा एक हजार २९१ सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ ।
यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५४० स्थानीय तहसम्म पुगेको छ । १० लाखभन्दा बढी घरपरिवारमा रु ८१ अर्बको कारोबार रहेको अहिलेको अवस्थामा सहकारीमा ७९ प्रतिशत महिला सहभागिता छ । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया