शनिबार २३ चैत, २०८१
Saturday, April 05, 2025

राष्ट्रिय जनगणनामा आर्थिक र सामाजिक पक्षको पनि अध्ययन गरिने

काठमाडौं : आगामी वर्ष हुने राष्ट्रिय जनगणना–२०७८ मा संख्या मात्रै नभइ आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने भएको छ । यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्यांक संकलन गरिने  केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।  ‘त्यसका साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपंक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरहरुको समेत तथ्यांक संकलन गरिनेछ,’ उनले भने । 

प्रत्येक दश वर्षमा गरिने राष्ट्रिय जनगणना शुरु हुन अब २११ दिन बाँकी छ । विभागले प्रारम्भिक अनुमान अनुसार,  ३ करोड जनसंख्या र ७० लाख घरपरिवार भएको अनुमान सार्वजनिक गरेको छ । 

कोरोना महामारीको अनिश्चितता रहिरहेको अवस्थामा पनि विभागले सहजतापूर्वक राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी भइरहेको विभागका महानिर्देशक श्रेष्ठले बताए । ‘कोरोना महामारीकै बीचमा पनि विभागले पाइलट जनगणना गरिसकेको छ, जसबाट केही अनुभव पनि प्राप्त भएको छ, हालकै अवस्थामा भए पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी काम सम्पन्न गर्न समस्या हुँदैन,’ श्रेष्ठले भने ।

उनका अनुसार तयारी स्वरुप आगामी माघदेखि प्रशिक्षक तालिम प्रदायकहरुका लागि तालिम दिन शुरु गरिनेछ । त्यसैगरी चैत महिनादेखि ४ महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिने श्रेष्ठले बताए । 

‘विगतमा गणकका रुपमा शिक्षकहरुलाई प्रयोग गरिन्थ्यो भने यसपटक खुला विज्ञापनमार्फत् गणकहरु छनोट गरिन्छ,’ उनले भने । श्रेष्ठले आर्थिक समृद्धि र सुशासनको आधार भएको बताए । उनले यसपटकको जनगणनामा पहिलोपटक स्थानीय तहसम्म गइ विस्तृत तथ्यांक संकलन गरिने बताए । 

राष्ट्रिय जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि राष्ट्रिय जनगणना निर्देशन समिति स्थापना गरिनेछ । साथै राष्ट्रिय जनगणना समन्वय समिति, राष्ट्रिय जनगणना प्राविधिक समिति र राष्ट्रिय जनगणनाका अन्य विषयगत समितिहरु पनि रहनेछन् । 

जनगणनाको समयमा चार महिनाका लागि विभिन्न स्थानमा कार्यालय स्थापना हुन्छ । जसमध्ये केन्द्रसँगै ७ वटै प्रदेश, सबै जिल्ला र सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्य समिति स्थापना हुनेछ । 

३ खाले प्रश्नावली
आगामी राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि ३ वटा प्रश्नावली तयार पारिएको छ । जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ । यसमा २५ वटा प्रश्न हुन्छन् । 

त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरु हुनेछन् । यो जेठ २५ गतेदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ । यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ । 
मुख्य प्रश्नावलीमा प्रत्यक्षरुपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी बत्ती, मोबाइल, सवारी साधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ । 

त्यसैगरी सरकारी निकायमा दर्ता नभएकाहरुको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरुको पनि तथ्यांक संकलन गरिनेछ । जसमा कुन व्यक्तिले के काम गर्छन ? कस्तो काम गर्छन् ? उनीहरुले काम गर्ने ठाउँमाबाट कस्तो उत्पादन हुन्छ लगायतका तथ्यांकहरु संकलन गरिने श्रेष्ठले जानकारी दिए । 
सामूदायिक प्रश्नावलीमा वडास्तरमा हुनेछ । यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाइ गर्ने काम हुन्छ । जसबाट वडा स्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ । 

इतिहास
नेपालमा सबैभन्दा पहिले सन् १९६८ मा चन्द्र शमशेर प्रधानमन्त्री हुँदा जनगणना गरिएको थियो । तत्कालिन समयमा ५६ लाख मानिसहरु थिए । तर हालको २०७८ सालको जनगणना संघीय संरचनामा आधारित रहेन गरिने भएकाले यसमा संख्या मात्रै नभए निश्चित भूगोल, समयमा बसोबास गर्ने मानिसहरुको संख्या र विशेषताको समेत तथ्यांक संकलन गरिन्छ । 

खासगरी आगामी जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा जमिनको विवरण संकलन गरिनेछ । त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्याता, स्वास्थ्य सम्बन्धीलगायतका तथ्यांक संकलन गरिनेछ । साथै सेवा सुविधामाथिको व्यक्तिहरुको पहुँच कस्तो छ भन्ने विषयमा पनि स्पष्ट रुपमा विस्तृत विवरण संकलन गरिनेछ । 

जनगणना किन चाहिन्छ ?
मुलुकभित्र बसोबास गर्ने निश्चित भूगोल र निश्चित समयमा गरिन्छ । यो प्रत्येक १० वर्षमा गरिन्छ । र नेपालमा सन् १९६८ सालमा गरिएको थियो । समग्रमा विभिन्न जाति, भाषा, लिंगलगायतको उमेर समूहका बारेमा सम्पूर्ण जानकारीका लागि जनगणना आवश्यक पर्छ । यसैका आधारमा सरकारले आफ्नो नीति तथा कार्यक्रम तय गर्छ । लक्षित समूहको हितका लागि पनि राहत कार्यक्रमका लागि पनि जनगणना आवश्यक हुन्छ । 

जनगणनाको तथ्यांक विशेष गरी निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रतिनिधि र राष्ट्रिय सभाको सदस्य, समानुपातिक, केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा स्रोत परिचालन गर्न र योजना तर्जुमा गर्न पनि यो आवश्यक हुन्छ । 

सामाजिक आर्थिक अवस्थाबारे जानकारी लिन पनि जनगणना आवश्यक हुन्छ । अर्को जनगणना नभएसम्मका लागि प्रक्षेपण गर्नका लागि कृषि गणनाका लागि पनि नमूना संकलन, लघु क्षेत्र अनुमान यो आवश्यक हुन्छ ।

साथै सामाजिक, आर्थिक हिसाब पनि जनगणनाको तथ्यांक आवश्यक पर्छ । जस्तै जीडीपी, प्रतिव्यक्ति आय निकाल्न पनि यो प्रयोग हुन्छ । यसपटकको राष्ट्रिय जनगणनामा ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ ।