शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

राजतन्त्रकालीन झल्को दिने विभूषण वितरण, रंगिए सामाजिक सञ्जाल

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज विभिन्‍न तक्मा र पदकसहित विभूषित हुनेहरूले सामाजिक सञ्जाल रङ्ग्याउन थालेका छन् । विभूषण घोषणा भएको १८ महिनापछि राष्ट्रपतिले ६६३ जनालाई तक्मा र पदक वितरण गरेकी छिन् । 

दश बजेदेखि शुरु भएको विभूषण प्राप्त गर्नेबित्तिकै सम्मानितहरूले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्न भ्याइसकेका छन् । विभूषण वितरणका लागि छनौट हुने व्यक्तिका सम्बन्धमा स्पष्ट मापदण्ड बन्‍न नसक्दा गणतन्त्रमा पनि राजतन्त्रकालीन शैलीमै गणतन्त्रका आसेपासे, निकटवर्ती र चाकडीबाजलाई विभूषण दिने गरेको भन्दै आलोचना हुँदै आएको छ । 

२०७६ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभूषण प्रदान गर्ने घोषणा भएका तर ‘सुशोभन’ हुन नसकेकाहरूलाई आज विभूषण प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्षताको समितिले सम्मानित हुनेहरूको नाम सिफारिश गरको हो । जसअनुसार, महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणी २ जनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी ७ जनालाई, उज्जवल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी एक जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी ११२ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी ८ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी २०० जना, जनसेवाश्री पञ्चम श्रेणी ११०, अलंकारतर्फ १५५ र २८ जनालाई पदक वितरण गरिएको छ । 

ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, व्यवसायी चन्द्र ढकालदेखि ब्यांकर रोशन कुमार न्यौपाने, कलाकार दिनेश डिसी, नायिका स्वेता खड्का तथा यातायात व्यवसायीहरू योगेन्द्र कर्माचार्य, सरोज सिटौला तथा उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जन लगायत सम्मानित भएर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरिसकेका छन् । 

‘सरकारलाई यो सम्मानका लागि धन्यावाद दिन चाहान्छु । राष्ट्रको सेवाका लागि यो एउटा सम्मान हो । आगामी धेरै वर्षसम्म म देशको सेवा गरिरहनेछु,’ ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर पाण्डेले लेखेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमै कारबाहीमा परेका कतिपय व्यवसायीहरूलाई समेत विभूषित गरिएको छ । 

'२८ वर्ष निरन्तर कलाकारिताको लागि नेपाल सरकारबाट पिठ्युमा धाप स्वरुप  “प्रबल जनसेवा श्री “ पदक पाएको यो क्षण खुशीसाथ सवै शुभचिन्तक एवं मित्रजनमा शेयर गर्दछु' विभूषित भएपछि कलाकार दिनेश डिसीले फेसबुक स्ट्याटस लेखेका छन् ।  

नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको समाचार अनुसार विभूषण निर्माणमा २० करोड रुपैयाँ खर्च भएको छ । 

२८ वर्ष निरन्तर कलाकारिताको लागि नेपाल सरकारबाट पिठ्युमा धाप स्वरुप “प्रबल जनसेवा श्री “ पदक पाएको यो क्षण खुशीसाथ सवै शुभचिन्तक एवं मित्रजनमा शेयर गर्दछु । with Ace entrepreneur Chandra Prasad Dhakal

Posted by Dinesh DC on Thursday, April 8, 2021

तस्बिरहरू: सामाजिक सञ्जाल