पहेँलपुर पदमपुर : फूलै फूलको तिहार तिमीलाई (फोटो फिचर)

चितवन : कालिका नगरपालिका-२ पदमपुरस्थित बलरामपुरका कृष्णप्रसाद पौडेलले मकै, गहुँ, तोरी लगाउने बारीमा तिहारलाई लक्षित गरेर भदौदेखि सयपत्री लगाए । अहिले सयपत्री फुलेर उनको बारी हराभरा भएको छ । तिहार नजिकिँदै गर्दा फूल खोज्नेहरू उनको घरमै आउँछन्, मोलमोलाइ गर्छन्, अर्डर दिन्छन् र जान्छन् । उनीसँगै छिमेकीहरू पनि उनको फूलखेती देखेर दङ्ग छन् ।
खेतबारीमा परम्परागत खेती गर्दै आएका जिल्लाका कतिपय किसानले हिजोआज प्रयोगस्वरूप अन्य खेती रोजेका छन् । कृष्णप्रसाद पौडेलले पनि फरक खेती गरौँ न त भन्ने सोच बनाए । ‘तरकारी र फूल खेतीमा धेरैले चासो दिएको देखेपछि मलाई पनि फूलखेती गर्न मन लाग्यो,’ श्रीमतीसँग डालोमा फूलका थुङ्गा टिप्दै गरेका पौडेलले भने, ‘राम्रै फलेको छ, माग पनि आएको छ, फूलखेती गरेर ठिकै गरिएछझैँ लागेको छ ।’
लकडाउनका बेला धेरैले धेरै थरी योजना बनाएको देखेर पौडेल पनि फूलखेतीमा आकर्षित भएका हुन् । पौडेलले पश्चिम चितवनको ज्योतिनगर पुगेर सयपत्रीका २० हजार बिरुवा ल्याए । उनले ती बिरुवा ६० हजारमा खरिद गरेका हुन् । बिरुवा रोप्दा कुल १ लाख खर्च भएको उनले बताए । भदौ-असोजमा नियमितरूपमा पानी परेकाले फूललाई सिँचाइको अभाव पनि भएन । पदमपुरको माटो सुहाउँदो पनि भएकाले फूल राम्रोसँग फुलेका छन् । भदौको दोस्रो साता रोपेका बिरुवामा अहिले सयपत्री फुलिरहेका छन् । रोपेको ७०/७५ दिनमा सयपत्री फुल्छ ।
अहिले पौडेल केही खेताला र परिवारसहित फूल टिप्नमा व्यस्त छन् । टिपेर ल्याएका फूल आँगनमा राखेर माला उन्नलाई ८ र ९ जना खटिएका छन् । ‘यो सबै काठमाडौँको अर्डर हो,' पौडेलले भने, ‘पशुपतिनाथ लगायतका मन्दिरमा पूजाआजाका लागि यी फूल पठाइएको छ ।’ प्रतिमाला २५ देखि ३५ रुपैयाँमा बिक्री भइरहेको उनले बताए । तिहार नजिकिँदै गर्दा फूलको माग धेरै छ । पौडेलले सबैतिर पुर्याउन सकिरहेका छैनन् । फूल खोज्दै घरमै आउनेहरूलाई उनी फूल बेच्नमै व्यस्त छन् । नियमितरूपमा उठाउनेलाई भने पौडेलले डेलिभरी दिने गरेका छन् ।
पौडेलले आफ्नै बारीमा फूलखेती गरेका हुन् । १८ कठ्ठा बारीमा करिब २० हजार सयपत्रीका बिरुवा छन् । उनले अहिलेसम्म करिब डेढ लाख बराबरका ६ हजार माला बिक्री गरेको बताए । ‘यो हप्ता अलि धेरै फूल बिक्री हुन्छ,’ पौडेलले भने, ‘अहिले खेताला लगाएर माला उन्ने काम गरिरहेको छु ।’
तिहारमा करिब १० हजार माला बिक्री हुने उनले अनुमान गरेका छन् । बिरुवाबाट अहिले पनि कोपिला लागिरहेका छन् । ती फूल तिहारपछि तयार हुन्छन् । तिहारपछि पनि अरु ५ हजार जति माला तयार गरेर बजारमा पठाउने उनको योजना छ । २० हजार बिरुवा रोप्दा एक चरणमा करिब २० हजारवटै माला बन्ने उनले सुनाए । त्यसबाट करिब ५ लाखको कारोबार हुने उनको अनुमान छ । पौडेलले अब फूलखेतीलाई निरन्तरता दिने योजना बनाएका छन् ।
अहिले चितवनका रत्ननगर, खैरहनी, भरतपुर साथै छिमेकी जिल्ला नवलपरासीबाट पनि फूलको माग आइरहेको उनले बताए । तिहारलाई लक्षित गरेर माला बजार पठाउने तयारी पौडेलले गरेका छन् ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया