शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

आगामी चुनावमा मोर्चा बनाएर ओलीको पार्टीलाई चौथोमा झार्छौ : दाहाल

फाइल तस्‍वीर

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताए ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरूकौ पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको बताए । जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए । यस्तै कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरु हुने दाबी पनि गरे ।

उनले भने ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिं हामीहरू र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । अघि भर्खरै म एउटा कार्यक्रममा गएँ । कर्मचारीको नेता साथि आउनुभएको थियो । उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो । उतापट्टिको भए पनि । त्यो लभ त गएको छैन नी । अर्कोले डिभोर्स गरिदिए पनि । अर्को जसपाका नेताहरूसँग हाम्रो 'वेभलेन्थ' धेरै नै मिल्छ । अहिले मात्रै मिलेको होइन उहिलेदेखि मिल्दै आएको वेभलेन्थ हो ।'

'जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । अब अहिले मोहन विक्रमहरुसँग, बैद्यजीहरूसँग पनि एकताको सपना देख्नुत एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन । तर मोर्चा चाहिँ बन्छ । मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्ता पनि हामी नै भइयो र मुलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्‌याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो । त्यसपछि उनको विघटन सुरु हुन्छ ।’

अध्यक्ष दाहालले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गरे  । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकास बन्ने विश्वास व्यक्त गरे ।