शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

सीसीएमसीले सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपील गर्ने

काठमाडौँ : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपील गर्ने निर्णय गरेको हो । 

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रूपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ । 

सीमा नाकाहरुमा सञ्‍चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्‍वारेन्टाइनमा राख्‍ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्‍चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।