लोपोन्मुख तान्त्रिक भैरव नाच आजदेखि सुरु

भक्तपुर - ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल : अर्थात् भैरव नाच यस वर्ष आज राति ८ बजेदेखि सुरु भएको छ ।
मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच आज राति ९ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले अवलोकन गरेको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।
आज रातिनै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवं प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैल ः सञ्चालन समितिले जनाएको छ । दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो । भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।
भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण रहने लाय्कू भैल ः नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गरिने छ । नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँगअर्थात् कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।
नाचका क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए ।
शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको श्रेष्ठको भनाइ छ । उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, संघसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् ।
धाः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य) को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोच्चारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।
प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएर हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वान्सँग छलफल गरी स्थानीय मानिसमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्वदन्ती रहेको गुरु श्रेष्ठ एवं यहाँका अन्य बासिन्दाले जानकारी दिए ।
आजदेखि नाच प्रदर्शन गर्न स्थानीयवासी एवं युवाको सक्रिय सहभागिता रहेको छ भने रातको प्रवाह नगरी हजारौँ स्थानीयवासीले नाचको अवलोकन गरेका छन् । नाच नाच्दा तान्त्रिक शक्ति प्रवाह भएर नाच नाच्ने परम्परा रहेको बताइएको छ । आजैदेखि मध्यपुरथिमिको दिगु टोलमा महाकाली नाच सुरु भएको छ । चार रातसम्म सञ्चालन हुने महाकाली नाच पनि तान्त्रिक विधिअनुसारनै प्रदर्शन गरिने परम्परा छ ।
यता मध्यपुरथिमिको बोडेमा आजै रातिदेखि नीलबाराही नाच सुरु भएको छ । यो नाच चार दिनसम्म लगातार बोडेको विभिन्न टोलमा प्रर्दशन हुने गरेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म बोडेमा चल्ने नीलबाराही आज रातिदेखि सुरु भएको हो । रासस

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया