शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ  : नेपालको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्‍चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्‍चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । 

नयाँ बसपार्क सञ्‍चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्‍चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए ।  

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्‍चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । 

बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक-निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्‍चालनमा ल्याइएको थियो । 

प्रालिका अध्यक्ष इञ्‍जिनियर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्‍न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ”, उनले भने ।  प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड-१९ सङ्क्रमणपछि हुने भीडभाडलाई  ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । 

ल्होत्सेले बस टिकट खरिद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा सेवा सञ्‍चालन गरिएको हो । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्‍चालित छ । बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ । (रासस)