आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कर्णालीमा 'फ्लोर क्रस' : राजनीतिक अपराध कि विधि नमान्‍नेलाई सबक ?

काठमाडौँ : शुक्रबार नेकपा एमालेका चार जना सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्‍वासको मत पाएका छन् । पार्टीको ह्‍वीपविपरीत चार सांसदले अविश्‍वास प्रस्‍तावको विपक्षमा मतदान गरेका थिए । सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले दलको ह्वीपविपरीत 'फ्लोर क्रस' गर्दै मुख्‍यमन्‍त्रीलाई विश्‍वासको मत दिएका थिए । उनीहरूलाई नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ । 

कर्णालीमा एमाले सांसदको विद्रोहपछि राष्‍ट्रिय राजनीति तरंगित बनाएको छ । जहाँ कांग्रेसले समेत सरकारलाई विश्‍वासको मत दिएको छ । कर्णालीमा बनेको अघोषित गठबन्‍धनले अन्‍य प्रदेश र केन्‍द्रमा केपी शर्मा ओली सरकारलाई पनि धक्‍का दिएको छ । यही गठबन्‍धन अन्‍य प्रदेशमा पनि बने ओली सरकार र उनी निकटका मुख्‍यमन्‍त्रीको बहिर्गमन निश्‍चितजस्‍तै छ । 

कर्णालीको राजनीतिले राष्ट्रिय राजनीतिक संकट समाधानको मार्गदर्शन गरेको माओवादी केन्‍द्रका नेता जनार्दन शर्मा बताउँछन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत उनले कर्णालीमा विधि नमान्‍नेलाई सबक सिकाएको बताए । 'कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्‍नेलाई एक सबक मात्र होइन राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो,' उनले लेखेका छन् । यस्‍तै एमालेको माधवकुमार नेपाल पक्षकी नेता राकुमारी झाँक्री क्रान्तिकारीहरूलाई विद्रोहको अधिकार सुरक्षित हुने बताउँछिन् । 'अन्याय, अत्याचार, अपमान र थिचोमिचोविरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई विद्रोहको अधिकार सुरक्षित हुन्छ,' सामाजिक सञ्‍जाल ट्‍वीटरमा उनले लेखेकी छन् ।  

एमालेको ओली पक्षीय नेताहरूले भने पार्टीको ह्‍वीप उल्‍लंघन गरेर कर्णालीमा चार सांसदले गरेको विद्रोह अराजनैतिक भएको बताएका छन् । एमाले नेता तथा लुम्‍बिनीका मुख्‍मन्‍त्री श‌ंकर पोखरेलले संसदीय ह्विप उलंघन गम्भीर राजनीतिक अपराध भएको बताएका छन् । राजनीतिमा विचारका आधारमा ध्रुविकरण स्वाभाविक मानिए पनि एउटै पार्टीमा बसेर गरिने संसदीय ह्विप उलंघन गम्भीर राजनीतिक अपराध भएको उनको भनाइ छ । 

प्रधानमन्‍त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्‍लाहकार विष्‍णु रिमाल कर्णालीको 'फ्लोर-क्रस'ले माओवादी केन्द्रमा बिलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । एमाले समाप्त पार्न 'एकता-विधि-पद्धति'को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्‍न छ भन्‍ने प्रष्‍ट भएको उनको भनाइ छ । 'कर्णाली प्रदेशको 'फ्लोर-क्रस' फ्लोर-क्रस मात्र हैन,' उनले भनेका छन्, ' माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष हो । एमाले समाप्त पार्न 'एकता-विधि-पद्धति'को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्‍न छ भन्‍ने बुझ्‍न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?' उनले भनेका छन् । 

एमाले नेता गोकुल बाँस्‍कोटा कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताउँछन् । अब नेपालले माओवादी समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्‍न लाउने, त्यसपछि कारबाही खाने मात्र बाँकी रहेको उनको भनाइ छ ।