बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कास्की–२ मा एमालेको विरासत जोगिएला कि भत्केला ?

काठमाण्डाैं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीसहितको बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् ।    
    
त्यस अघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्र अधिकारीले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ । आसन्न निर्वाचनमा एमाले उक्त बिरासत जोगाउने कसरतमा त छ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त बिरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।    
    
अहिलेको निर्वाचनमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई निकै चासो र रोचकरुपमा हेरिएको छ ।    
    
विसं २०७४ को निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार छ सय ६१ मत प्राप्त गरेका थिए । अधिकारी त्यसअघि २०६४ र २०७० मा भएको संविधानसभाको निवार्चनमा पनि यस क्षेत्रबाट निर्वाचित बने ।    
    
हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधनपछि २०७६ को उप–निर्वाचनमा २४ हजार तीन सय ९४ मत ल्याएर अधिकारी पत्नी भट्टराई विजयी बन्दा उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९९ मत प्राप्त गरेका थिए ।    
    
विसं २०७४ मा एमाले माओवादीसहितको वाम गठबन्धन रहेकोमा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेका कारण पनि विद्यालाई जित्न सजिलो भएको थियो । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । अहिलेको निर्वाचनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।
    
यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये ६ वडामा कांग्रेसका वडाध्यक्षले विजयी प्राप्त गरेका छन् भने पाँच वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २१ हजार एक सय ६४ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय मत प्राप्त गरेका थिए ।    
    
 त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले दुई हजार ५३ मत प्राप्त गर्दा राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवारले एक हजार एक सय ९८ मत पाउँदा स्वतन्त्रसहित अन्य दलले सात सय ५० मत पाएका थिए । वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ, भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । कास्की क्षेत्र २ निर्वाचन क्षेत्र बदलिरहने क्षेत्रमा पर्दछ ।    
    
विसं २०४८ देखि २०६४ सम्म तीनवटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा २०६४ देखि २०७० सम्म चार वटा क्षेत्र कायम गरिएको थियो । तर २०७४ पछि पुनः तीन वटा निर्वाचन क्षेत्र कायम भएका छन् । पछिल्लो भौगोलिक संरचना अनुसार यो क्षेत्र साविक तीन नम्बरका अधिकांश वडा मिलाएर बनाइएको छ । यस अघि तीन नम्बर क्षेत्रका सात र दुई नम्बरका चार वटा वडा हाल यस क्षेत्रमा पर्दछन् । पहिलेका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले तीन नम्बरका हुन् भने बाँकी ११, १५, १६ र २० भने दुई नम्बर क्षेत्रमा पर्दथे । २०६४ अघि दुई नम्बर क्षेत्र आठ वटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनाइएको थियो ।    
    
यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे । विसं २०४६ को प्रजातन्त्रको पुनःस्थापनापछि भएका छ वटा संसदीय निर्वाचनमा हालको यस क्षेत्रले चर्चेका स्थानमा पाँच पटक एमालेले चुनाव जितेको छ, भने एक पटक मात्र कांग्रेसले जितेको छ ।
    
यस क्षेत्रबाट महादेव गुरुङ कांग्रेसबाट विजयी बनेका थिए । नेकपाबाट तुलबहादुर गुरुङ र रवीन्द्र अधिकारी हुँदै विद्या भट्टराई विजयी बने । तुलबहादुर गुरुङ क्षेत्रमा गुरुङ दुई पटकसम्म विजयी बन्नुभयो भने अधिकारी तीनपटक विजयी बने ।    
    
अधिकारीसँग पहिलो संविधानसभामा माओवादीका झलकपाणि तिवारी पराजित बने भने दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शोभियतबहादुर अधिकारी पराजित भए । तेस्रो पटक चुनाव जित्दा अधिकारीसँग कांग्रेसका देवराज चालिसे निकटतम प्रतिस्पर्धी थिए । भने त्यसअघि गुरुङसँग दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित बनेका थिए ।    
     
 कूल ७९ हजार एक सय ३८ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क)मा ४२ हजार दुई सय ८२ र प्रदेशसभा (ख) मा ३६ हजार आठ सय ५६ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन् । रासस