ऋण तिर्न भारत गएका हर्कबहादुर देखाउँछन् विश्वलाई आइपीएल
रंगमञ्च पछाडिका नेपाली नायकको लुकेको कथा

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिक-७ मा २०३३ सालमा जन्मेका थिए, हर्कबहादुर कैनी । जिल्लाको पोखरमा रहेको उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए उनले ।
उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका कैनीको परिवारको दवावका कारण २०५३ मंसिरमै विवाह भयो । विवाहको खुसी सकिएको थिएन्, कैनी परिवार शोकमा डुब्यो । मंसिरकै महिनामा हर्कबहादुरका बुवाको निधन भयो । त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए ।
मुम्बइको एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरे हर्कबहादुरले । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले । अनि चिया पकाउने काम छोडेर नयाँ काम तिर लागे तर बिना तलब ।
‘५ महिनासम्म काम सिकेपछि कम्पनीले तलब दिन सुरु गर्यो,’ भारतमा चेन्नइमा रहेका उनले भने, ‘प्राविधिक रूपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरू मिलाउने काम थियो मेरो । सोही समयमा अडियो भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तिर्ण गरेको थिए ।’ आफ्नो काममा पोख्त हुन थालेपछि सन २००३ पछि भारतभित्र मात्र होइन विदेश जाने अवसर समेत पाउन थाले हर्कबहादुर ।
‘विभिन्न इभेन्टहरूको प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको थिएँ,’ उनले अगाडि थपे, ‘अहिले त दर्जर्नाै देशमा गएर टेलिभिजनमा इभेन्टहरू देखाइरहेको छु ।’
अहिले भारतमा १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) जारी छ । आइपीएलमा सहभागी टिम र खेल्ने खेलाडीको विषयमा नेपालमा पनि चर्चा हुन्छ । कुन खेलाडीले कस्तो प्रदर्शन गरे ? त्यो विषयमा पनि बहस हुन्छ ।
तर त्यो आइपीएललाई हाम्रो टेलिभिजनमा देखाउने पर्दा पछाडिका नायकको विषयमा हामी कमै चाँसो राख्छौ । आइपीएललाई टेलिभिजनमा आकर्षक बनाएर देखाउँने काम हो हर्कबहादुरको । विगतका वर्ष जस्तै यो वर्ष पनि हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत छन् उनी ।
भिजन इन्जिनियर हर्कबहादुरले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन् । उनले भने, ‘२००८ देखि भारतमा आइपीएल सुरु भयो । आइपीएलमा पनि २००९ देखि नै काम गर्न थालेको हुँ । यो वर्ष पनि आइपीएलको प्रत्यक्ष प्रसारणको टोलीमा छु ।’
उनीसँग आइपीएलसंगै विगतमा २० र ५० ओभरको विश्वकप क्रिकेट, एसियन गेम, इन्डियन सुपर लिग फुटवल, प्रो कवड्डी, बहुचर्चित आइफा अवार्ड, विग बोस, इन्डियन आइडललगायतका विभिन्न इभेन्टस्को प्राविधिक टोलीमा रहेको अनुभव छ । उनी खाली समयमा पनि डडेल्धुरा फर्किन्छन् । ‘काम भए विदेशमै हुन्छु, खाली समयमा घरमा बस्छु,’ उनी भन्छन, ‘६ महिना काम पाए सालभरीलाई खान लगाउन मज्जाले पुग्छ ।’

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया