जसलाई त्यही जनताले हराए, त्यही जनताले जिताए

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका छन् ।
उनले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गरेका छन् । यसका लागि पौडेलले नेकपा (एमाले)का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गरे ।
कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।
जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताएका छन् । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।
विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए ।
पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए ।
पौडेल २०४८ सालमा तनहुँ-१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् ।
उनले सभामुखको जिम्मेवारी पनि निभाइसकेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि भएका थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।
जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक/एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।
नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै, निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भएका छन् । महतले १५ हजार छ सय ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे ।
साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी भएका छन् । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे । रासस

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया