सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

पर्वहरू मध्ये उधौली महान् पर्व : प्रदेश प्रमुख शर्मा

मकवानपुर- उधौली पर्वकाे अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना दिएका छन् । बिहीबार देशभर मनाइने किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश दिएका हुन् ।

प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै यो पर्वको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई–दिदीबहिनीहरूमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालीहरूको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताए ।

उनले सबै समुदाय र सम्प्रदायका नेपालीहरू समस्टीमा बन्धु–बान्धव रहेको उल्लेख गरे । शुभकामनामा उनले भनेका छन्, ‘हाम्रा सबै भाषा तथा चाडपर्वहरू राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरूले मनाउने उधौली पर्व पनि हाम्रा पर्वहरू मध्येको एउटा महान् चाड हो ।’

उधौली पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व रहेको सन्दर्भ समेत प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ । ‘नेपाली जीवनको आधारस्तम्भ कृषि एवं पशुपालनबाट विकसित हुँदै आएको हो । एकातिर पशुहरू लेकाली इलाकाको खर्कबाट गाउँवेशी झरेको र अर्कातिर अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने यो पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व छ । ’

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई हाम्रो गौरवमय परम्परा र उच्च सांस्कृतिक धरोहरका रूपमा जोगाई राख्नु हाम्रो दायित्व पनि हो ।’

प्रमुख शर्माले सन्देशमा भनेका छन्, 'यस पर्वले हामी नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ ।’