हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी
बागमती- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालू आर्थिक वर्षको चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियता सम्बन्धी उजुरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फर्छ्यौंट भइसकेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो ।
प्रस्तुत विवरणअनुसार सो अवधिमा बाराको एक सय ३२, पर्साको एक सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा तीन, रामेछाप र काभ्रेपलाञ्चोकको एक/एक र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोटबाट कुनै उजुरी परेको छैन ।
गत आर्थिक वर्षदेखि सरेर आएको र चालू आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या नौ सय ६२ रहेको छ । यी उजुरीमध्ये दुई सय ८१ वटा उजुरी फर्छ्यौंट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ ।
उपलब्ध विवरणमा गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधातर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोद भट्टराईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव शङ्कर पण्डितले आफ्नो मन्त्रालयअन्तर्गत दुई सय ४५ वटा योजना भए पनि कर्मचारी समस्याले काम गर्न अप्ठ्यारो परेको बताउँदै दक्ष जनशक्तिको अभावमा विकास निर्माणको काम अगाडि बढाउन समस्या भएको गुनासो गरे । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले तीन तहका सरकारले आ–आफ्नोतर्फबाट सुशासन कायम गर्न इमान्दारीता लाग्नुपर्ने बताए ।
आयोगका हेटौंडा प्रमुख नरहरी घिमिरेले इमान्दारिता तथा न्यायपूर्वक काम गर्न सके भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया