सार्वजनिक सम्पत्ति संरक्षण : नगरपालिकाले छुट्यायो ४० लाख

कीर्तिपुर- कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर काम सुरु गरिसकिएको छ ।
गत वैशाखमा निर्वाचित भएर नगरपालिकाको कार्यभार सम्हालेपछि पहिलो पटक आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रवक्ता एवं उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरभित्रका सार्वजनिक जग्गा पाटी, चोक र वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको गुनासो बारम्बार आउन थालेपछि बजेट विनियोजन नै गरी सार्वजनिक सम्पत्ति सुरक्षणमा लागिएको जानकारी दिइन् ।
'अहिलेको नगर नेतृत्व सार्वजनिक सम्पत्ति बचाउनु पर्नेमा एक मत छ,' उनको भनाइ थियो । यसको संरक्षण गर्न सके नगरवासीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने मात्र नभइ कुनै पनि बेला आइपर्ने आपद् विपतमा काम लाग्ने धारणा पनि उनको थियो ।
पत्रकार सम्मेलनमा नगरपालिकाले नगरका सबै विद्यालयको भौतिक र शैक्षिक अवस्था निरीक्षणसहित सघन अनुगमन गर्न चार/चार जनाको टोली बनाएर खटाउने जानकारी पनि कार्यक्रममा दिइयो । यसअन्तर्गत टोलीले विद्यालयका भौतिक संरचना विद्यार्थी मैत्री एवं शैक्षिक मापदण्डअनुरूप भए नभएको निरीक्षण गर्ने, शैक्षिक वातावरण र सिकाइ उपलब्धिबारे बुझ्ने र निरीक्षणबाट प्राप्त परिणाम नगरपालिकालाई बुझाउने छन् । टोली नगरपालिकाको शिक्षा शाखाको नेतृत्वमा परिचालित हुनेछन् ।
टोलीले नगरका सार्वजनिक र निजी स्वामित्वका गरी ३० भन्दा बढी विद्यालयको निरीक्षण गर्नेछ ।
नगरपालिकाले प्राकृतिक विपद् नियन्त्रणसहित करिब दुई सय २५ योजना अघिल्ला वर्षका कार्यक्रम अन्तर्गत ल्याइएको जानकारी दिएको छ । नगर स्तरीय २१ र ४४ वटा वडा स्तरीय योजना सञ्चालन भइरहेको र आगामी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गरिसक्ने योजना रहेको उपप्रमुख शाक्यले जानकारी दिइन् । नगरपालिकाले सांस्कृतिक र पुरातात्त्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको जानकारी पनि उपप्रमुख शाक्यले दिइन् ।
उनले शिक्षामा ‘एक घर एक स्नातक’ कार्यक्रम अन्तर्गत तीन सामुदायिक क्याम्पसमा नगरपालिकाले ६० प्रतिशत र सम्बन्धित क्याम्पसले ४० प्रतिशत बेहोर्ने गरी कार्यान्वयनमा गएको जानकारी पनि उनले दिइन् । चालू आर्थिक वर्षमा नगरपालिकाले चालू र पूँजीगत गरी कूल बजेटको १९ दशमलव ४४ प्रतिशत रकम खर्च गरेको उनले बताइन् । रासस

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया