दलीय आडमा ठेक्का लिँदै, अलपत्र पार्दै
कार्यालयले गरेको ताकेताबारे कसैले टेर्दैनन्

सुर्खेत- जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडि लगाएको ठेक्काको काम अहिलेसम्म पूरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्या देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५/७६ मा लिएको ठेक्का अहिलेसम्म निर्माण नभएका हुन् ।
एक वर्षभित्र पूरा गर्ने सम्झौता गरेर सामग्रीसहित बुझी अहिलेसम्मा काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टा, छुट्टै ठेक्काका काम अहिलेसम्मा नहुँदा सर्वसाधारणले बिजुली बाल्न पाएका छैनन् ।
नेपाली कांग्रेस जिल्ला कमिटीका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ-७ ले छेडागाड नगरपालिकाको मनघाटदेखि सुवाडामा प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले छेडागाड नगरपालिकाको थलहदेखि जुनिचाँदे गाउँपालिकासम्म विद्युतको प्रसारण लाइन जोडनका लागि अर्को ठेक्कासमेत लिएर काम नगरेका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको साई बाबा एण्ड तारा कन्स्ट्रक्सन खलंगा–२ ले कुशे गाउँपालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले पाँचकाटियादेखि किट्नी नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली, दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सादेखि बारेकोटसम्म एक वर्षभित्र विद्युतको प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालयदेखि नाहाडासम्म लिएको ठेक्काको कामसमेत हुन सकेको छैन । उनले आर्थिक वर्ष २०७६/७७ मा ठेक्का लिएका थिए ।
त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकेको छ । उसले नलगाड नगरपालिका–७ दल्लीदेखि वडा नम्बर ११ तल्लुसम्म प्रसारण लाइनको काम लिएको थियो ।
त्यस्तै राप्रपाका नेता कृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष)को डाँफे निर्माण सेवाले थलहदेखि टालेगाउँ अछानी सम्मा विद्युत् प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएकोमा काम ९७ प्रतिशत पूरा गरेको छ । विजयश्वारी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष गोपाल बटालाकी श्रीमती (बुद्धीकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६/७७ मा लिएको सुवानाउलीदेखि गर्खाकोटसम्मको ठेक्काको कामसमेत आधा भएको छ । आधा काम अझैँ अलपत्र परेको नेपाल विद्युत् प्राधिकरण जाजकोटका प्रमुख अविशेककुमार कलवारले जानकारी दिए ।
कार्यालयले गरेको ताकेताबारे कसैले टेर्दैनन्
नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटक-पटक लिखित, मौखिक जानकारी गराउँदा पनि समयका काम गर्नेतर्फ ध्यान कसैले पनि नलिएको पाइएको छ ।
कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्बन्धित ठाउँमा प्रयोग नगर्दा ती विद्युतीय सामग्री कुन अवस्था छन् भन्ने कुराको टुंगोसमेत लागेको छैन ।
केही बाटोमा जथाभावी फ्याकिँदा खोला, खाल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्थामा रहेको छ । सरकारी सम्पत्ति यसरी जनभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरू कोही पनि बोल्दैनन् । तीन वर्षअघि जिल्लामा विद्युत् सेवा सञ्चालन भइसक्नु पर्ने भए पनि अहिलेसम्म काम पूरा नहुँदा एक चौथाइसमेत विद्युतको पहुँचमा आउन सकेको छैन ।
यो आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्यसमेत थपिएको छ । मोर्क, शिवालय, इवर, बुरुङ्गे, काफलचौर छिप्रेना, रिम्ना, रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपेलगायतका ठाउँमा बत्ती बल्दा ग्राहक संख्य बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार ३ हजार ८२३ बाट ६ हजार २०० ग्राहक संख्या पुगेको छ । हेमन्त केसी/न्युज कारखाना

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया