निषेधाज्ञामा रुपन्देही : बजार सुनसान, बेकाममा हिड्नेहरूमाथि कडाई

बुटवल : कोभिड-१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न आज बिहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैबाट मुख्य सहर बुटवल, भैरहवालगायत सुनसान बनेका छन् ।
मानिसहरूको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । बिहानैदेखि मजदुरी गर्न हिँड्ने मानिस र फेरीवालाहरू सडकमा देखिएका छैनन्, भिड निकै कम छ । हाटबजारमा निषेधाज्ञाको अवज्ञा गर्दै खुलेका केही कपडा पसलहरू बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले बन्द गराएको छ । मिलनचोक र बसपार्कमा खुलेका केही पसलहरू पनि सुरक्षाकर्मीले बन्द गराएका छन् ।
यता पुष्पलाल पार्कमा ठेलामा फलफूल बेच्न हिँडेका व्यापारीलाई प्रहरीले सोधपुछ गरी घर फर्कायो । बसपार्क पछाडी देखिएको मानिसहरूको चहलपहललाई खटिएका प्रहरी जवान गौरब भुषालले ईरिक्सा, रिक्सा र सामान्य हिँडडुलसमेत रोक्न आफूहरूलाई निर्देशन आएको बताए ।
सुरक्षाकर्मीका प्रयासका बाबजुद बुटवलका भित्रि सडकमा भने केही ईरिक्सा तथा रिक्साहरू यात्रु बोकेर हुँइकिरहेका छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरू सञ्चालन भइरहेका छन् । तिनकुने चोकको सडक किनारमा भूइँमा राखिएका तरकारी पसलहरूमा किन्नेहरूको केही जमघट देखिन्छ । परिचय पत्र बोकेका अत्यवश्यक कामदारलाई भने आवतजावतमा रोकिएको छैन ।
गत चैत ११ गतेदेखि रुपन्देही लगायत देशैभर पहिलोपटक ‘लकडाउन’ गरिएको थियो । दोस्रो पटक संक्रमण बढ्दै गएपछि रुपन्देहीमा जिल्ला प्रशासनले बैशाख ३० गते विहान ६ बजेसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ । यसअघि कोभिड-१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले निर्णय गर्दै पाँच सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लाहरूमा प्रशासन आफैले निषेधाज्ञा जारी गर्न सक्ने बताएको थियो । रुपन्देहीमा सक्रिय संक्रमितहरूको संख्या एक हजार नाघेपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले बताए ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया