मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

सेयर बजार १७ अंकले बढ्दा ४ अर्ब ४ करोडको कारोबार

काठमाडौँ- आइतबार सेयर बजार परिसूचक १७ अंकले बढेको छ । साताको पहिलो कारोबारको दिन आज बजार १७.२६ अंकले बढेको हो । तीव्र उतारचढावकाबीच बजार अंकले बढेर २०४६.२९ विन्दूमा उक्लिएको छ ।

गत साताभर १६१ अंकले बढेको बजार यो सातापनि दोहोरो अंकले वृद्धि हुँदै साताको सकारात्मक सुधार देखिएको छ।  बजारसँगै कारोबार रकम पनि उल्लेख्य वृद्धि देखिएको छ। आज सेयर बजारमा २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर ६२ हजार ५५१ पटकमा खरिद बिक्री भएको छ। गत साताको अन्तिम कारोबारमा २ अर्ब ८६ करोडको सेयर खरिद बिक्री भएको थियो ।

उप-सूचकतर्फ विकास बैंक ०.०४ प्रतिशत तथा फाइनान्स सूचक ०.२० प्रतिशतले घट्दा बाँकी सूचक बढेका छन् । १७ अंकले बजार बढ्दा आज कारोबार भएका १२१ कम्पनीको सेयर मूल्य बढेका छन् भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ।

यस्तै सृजनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तका सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेका छन् ।