को हुन् बागमतीको चौथो मुख्यमन्त्री शालिकराम ?

मकवानपुर- बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको लागि बनेको सरकारमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएपछि आज पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।
शालिन र सरल ब्यक्तित्व जम्कट्टेल आफ्ना पार्टीभित्र मात्रै हैन पार्टी बाहिरका व्यक्तिलाई पनि सहजै प्रभाव पर्ने सक्ने खुबी भएका ब्यक्तिको रुपमा चिनिन्छन् । उनी २०३० साल भदौमा धादिङ जिल्लाको साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका हुन् ।
सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मेका उनी विद्यार्थी जीवनकालमै राजनीतिक सवालमाथि चिन्तन राख्थे ।
वि.स. २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरे । २०४८ सालबाट मजदुर संगठनमा लागेपछि औद्योगिक मजदुरहरूको सवाललाई बलियो गरी उठाउने नेताको रुपमा चिनिन थाले । उनी सो संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म भए ।
२०५२ सालमा माओवादी युद्धमा होमिपछि उनको व्यक्तित्व अझै खारियो । त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए । बी.ए., बी.एलसम्मको अध्ययन गरेका जम्कट्टेल मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका हुन् ।
२०६३ सालमा उनी पुनःस्थापित संसद्को अन्तरिम विधायिका भए । राजनीतिसँगै सामाजिक यात्रा र विषयवस्तुलाई पनि गहन रुपमा लिने उनको अन्तिम गन्तब्य भने राजनीति नै थियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका तत्कालिन नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आए । तर, २०७० को भएको संविधानसभाको निर्वाचनमा भने उनै पाण्डेसँग नै पराजित हुन पुगे ।
जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन् । २०७४ मा बागमती प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री भए ।
नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिए । त्यसपछि लगत्तै राजेन्द्र पाण्डे नेतृत्वको गठबन्धन सरकारमा उनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भए ।
गत ४ मंसिरमा भएको निर्वाचनमा धादिङ जिल्ला क्षेत्र नं. १ को (२) बाट निर्वाचित भएका हुन् ।
यो पटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाएका थिए । गठबन्धनभित्रको भागबन्डा नमिलेपछि उनी प्रदेशसभातर्फ नै चुनावी मैदानमा होमिएर जित हासिल गरे र बागमती प्रदेश सरकारको इतिहासमा चौथो मुख्यमन्त्रीको रुपमा नाम लेखाउन सफल भए ।
प्रदेश संरचनाबारेमा नकरात्मक टिकाटिप्पणी आइरहेको बेला, बनेको नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका जम्कट्टेललाई संघीयतामा प्रदेश तहको औचित्व पुष्टि हुनेगरी काम देखाउने अवसर र चुनौती छ । संघीयतामा चाहिँदैन खारेज नै गर्नुपर्छ भन्ने मुद्धा बोकेर हिँडेका दलसँगको साझेदारीमा सरकारको नेतृत्व गर्नु पनि चुनौतीपूर्ण रुपमा हेरिएको छ ।
उनको मन्त्रिमण्डलको रुपमा राप्रपाबाट संसदीय दलको नेता उद्धव थापा पनि मन्त्री बन्ने लगभग पक्का भएको छ । राप्रपा कुनै पनि हालमा संघीयता खारेजी हुनुपर्ने एजेण्डा बोकेर संसद् छिरेको पार्टी हो । संघीयताप्रति सकारात्मक र नकारात्मक दुबै विचार राख्नेहरूलाई मिलाएर नेतृत्व गर्दै प्रदेश तहको सफलता देखाउन उनलाई फलामे च्युरा चपाउनु जत्तिकै हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया