‘निराशामा आशा बनेर आएको आयुर्वेद अस्पताल’

काठमाडौँ : उपचार गराइरहेका कोभिड-१९ संक्रमित हप्तादिन भित्रै संक्रमण मुक्त भएपछि कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र एकाएक चर्चामा आयो । आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ बनाएपछि केही आशा पनि थपिदियो ।
केन्द्र कोभिड-१९को दोस्रो लहर आएसँगै केन्द्र फेरि कोभिड संक्रमितको उपचारमा खटेको छ । अहिले यस केन्द्रमा १ सय १५ जनाको उपचार भइरहेको केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा.जितेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै यस केन्द्रमा संक्रमितहरूको चाप बढिरहेको छ ।
केन्द्रले गत चैत २८ गतेबाट संक्रमितहरूको उपचार गर्न थालेको थियो । श्रेष्ठका अनुसार सुरुसुरुमा दैनिक १÷२ जना संक्रमित आउने गर्थे । तर, अहिले यो संख्या बढेर दैनिक १०÷१५ जनाको हाराहारीमा कोभिड संक्रमित यहाँ आउने गरेका छन् । कोभिड संक्रमितको चाप बढेसँगै केन्द्रले आफ्नो क्षमता बढाउने कोशिस गरिरहेको डा.श्रेष्ठ सुनाउँछन् । ‘अहिले केन्द्रको क्षमता १ सय २५ जनाको छ । थप ५० जनाको उपचार गर्न सक्ने गरी बेड र उपचार सामग्री बढाएर क्षमता अभिवृद्धि गर्न स्वास्थ्य विभागलाई आग्रह गरेका छौँ,’ श्रेष्ठ भन्छन्, ‘पोहोर हामीले एकपटकमा झन्डै दुई सय जनाको उपचार गरेका थियौँ । अहिले पनि २ सय जनासम्म कोभिड संक्रमितको उपचार गर्न सक्छौँ ।’
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि केन्द्रले गतवर्ष जेठ ३ देखि संक्रमितलाई क्वारेन्टिनमा राखेर आयुर्वेदिक काढा, रोग प्रतिरोधात्मक औषधि, जडिबुटी सेवन गराएर व्यवस्थापन सुरु गरेको थियो । त्यसपछि असार २५ गते बिहीबारदेखि संक्रमित बिरामीहरूलाई केन्द्रमा आइसोलेसनमा राखी आयुर्वेद पद्दती एवं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार उपचार नै सुरु गरेको थियो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि उनीहरूले आयुर्वेदिक औषधी खुवाउने गरेका थिए । केन्द्रले नै अनुसन्धान गरी आयुर्वेदिक रोगप्रतिरोधात्मक औषधी बनाएका थिए । जसको ८५ प्रतिशतसम्म ‘सक्सेस रेट’ देखिएपछि उनीहरूले यही औषधी प्रयोग गरेका थिए ।
‘बजारमा आयुर्वेदको नाममा देखिने आकर्षक विज्ञापनमा नझुक्किनुहोला । ति नक्कली औषधी हुन् । सक्कली औषधीको विज्ञापन गर्न पाइँदैन’ : डा. प्रकाश ज्ञवाली
काठमाडौँमा सबैभन्दा ठूलो आइसोलेसन भएको अस्पताल यो नै थियो । डाक्टरहरू २४ सै घण्टा संक्रमितको उपचारमा खटिएका हुन्थे । ओपिडी र फलोअपमा आउने साथै नयाँ बिरामीको उपचार पनि रोकेको थिएन । अघिल्लोपटक संक्रमितको उपचारका क्रममा केन्द्रले विभिन्न उपाय अपनाएको थियो । संक्रमितहरूको लागि बिहान र साँझ धार्मिक गीत बज्थ्यो । त्यसपछि संक्रमितहरूको नाचगान र योग अभ्यास सुरू हुन्थ्यो । निःशुल्क आयुर्वेदिक औषधी सेवन गर्न दिन्थ्यो ।
संक्रमितलाई दिनको दुई पटक खाना र दुईपटक खाजा दिन्थ्यो । बेलुका दुध खान दिन्थ्यो । रमाइलो वातावरणमा उपचार पाएकाले होला, केन्द्रको आइसोलेसनमा बसेको बिरामी ७ देखि १० दिनमै डिस्चार्ज गरेर घर फर्किन्थे । डा. श्रेष्ठका अनुसार अहिले पनि उपचार पद्दती पुरानै हो । बिहान बज्ने गीत मात्रै अहिले बज्दैन । उनी भन्छन्, ‘अक्सिजन प्रयोग गरेर बसिरहेका संक्रमितको लागि डिस्टर्ब होला भन्ने भएर गीत चाहिँ बजाउँदैनौँ । योगाभ्यास गर्न चाहनेले गर्न सक्छ । कोभिड संक्रमितहरूलाई खाना र खाजा खुवाउनको लागि टेण्डर आह्वान गरेका थियौँ, जसमार्फत् टेण्डर पाएकाहरूले नै खाना खुवाउने गरेका छन् ।’
अघिल्लो वर्ष प्रयोग गरेको नै औषधी यसवर्ष पनि प्रयोग गरिरहेको छ केन्द्रले । यसवर्ष पनि यही औषधी र उपचार पद्दतीले संक्रमितको उपचार गरिरहेका छन् । श्रेष्ठका अनुसार यो औषधीको माग बढिरहेको छ । तर केन्द्रले यो औषधीलाई विक्रि वितरण भने गरेको छैन । केन्द्रमै उपचारका लागि आएका बिरामीलाई बाहेक अन्यलाई यो औषधी दिने वा विक्रि वितरण नगरेको श्रेष्ठ सुनाउँछन् ।
तर बजारमा आयुर्वेदिक औषधीका रूपमा नक्कली औषधीको विज्ञापनका साथै विक्रिवितरण भइरहेको नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली बताउँछन् । उनले जनस्वास्थ्य संकटकालको परिस्थितिमा पुगिसकेकोले आयुर्वेद जडिबुटी सेवन गर्न सुझाव दिइरहेका छन् । यससँगै नक्कली आयुर्वेदिक औषधीबाट जोगिन पनि सचेतना दिइरहेका छन् । फेसबुकमा लामो पोस्ट लेख्दै उनले भनेका छन्, ‘बजारमा आयुर्वेदको नाममा देखिने आकर्षक विज्ञापनमा नझुक्किनुहोला । ति नक्कली औषधी हुन् । सक्कली औषधीको विज्ञापन गर्न पाइँदैन ।’
अहिले भाइरसमा केही परिवर्तन आएता पनि पहिलेदेखि भन्दै आएको रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेद औषधी अहिलेको समस्यामा पनि उत्तिकै प्रभावकारी भएको उनको तर्क छ । उनका अनुसार आयुर्वेदिक औषधीले कोभिड निको गराउने नभई सुरूदेखि सेवन गर्दा रोग जटिल बन्न दिँदैन । यसले स्टामिना बढाउँछ भने दर्तावाल आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिस अनुसार आयुर्वेद औषधी सेवन गर्नु पर्छ ।
तर ‘आयुर्वेद केही होइन’ भनी सुनियोजित रूपमा भ्रम फैलाएको समेत उनले बताएका छन् । ‘आयुर्वेदलाई बजेट, कार्यक्रम विहिन बनाएर स्वास्थ्य भनेको एलोपेथी औषधी हो, रोकथाम भनेको भ्याक्सिन हो, आयुर्वेद केही होइन भनी सुनियोजित रूपमा भ्रम फैलाइयो,’ उनले फेसबुकमा लेखेका छन्, ‘जनस्वास्थ्य संकटकालको परिस्थिति बनिसक्यो । हाम्रो स्वास्थ्य प्रणाली कोरोनाको अगाडि निरिह भैसकेको छ । समयमै सचेत रहौँ । जनस्वास्थ्यको मापदण्ड पालन गरौँ, आयुर्वेद जडिबुटी सेवन गरौँ ।’

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

प्रतिक्रिया