भुवन केसीको निर्णयमाथि सञ्चार मन्त्रालयको हस्तक्षेप, केसी भन्छन्- बाेर्डसँग सल्लाह नै गरिएन

काठमाडौँ - भुवन केसीले बोर्ड अध्यक्षको रुपमा गरेका लगभग सबै काम सञ्चार मन्त्रालयले उल्ट्याई दिएको छ । भुवन केसीले बोर्ड अध्यक्ष भएसँगै कुनै पनि फिल्म सेन्सर सिफारिसमा नगइन्जेल बोर्ड अन्तर्गत रहेको सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट जारी हुँदै आएको मुभी कोड जारी नगर्ने नियम ल्याएका थिए । तर शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डलाई पत्र लेख्दै सेन्सरका लागि तोकेका शर्तहरू पूरा गरेको अवस्थामा मुभी कोड उपलब्ध गराउन आदेश दिएको छ ।
चलचित्र विकास बोर्ड अध्यक्ष भएपछि भुवन केसीले विदेशी फिल्मप्रति कडा रवैया प्रस्तुत गर्दै फिल्म सेन्सर लक्षित नियमहरू लागू गरेका थिए । जसमा सेन्सरका लागि १ हप्ता अगाडि नै कागजपत्र बुझाउनु पर्ने र सेन्सर भएपछि मात्र मुभी कोड उपलब्ध गराउने मुख्य थिए । तर पहिलो निर्णयबाट भुवन केसी आफैँ हट्न बाध्य भएका थिए भने दोस्रो निर्णयलाई सञ्चार मन्त्रालयले घुँडा टेक्न बाध्य बनाएको छ । सञ्चार मन्त्रालयले बोर्डसँग सल्लाह नै नगरी मुभी कोड उपलब्ध गराउने नियममा खुकुलो हुन पत्राचार गरेको छ । हप्ता दिनअघि कागजपत्र बुझाउनु पर्ने नियम कात्तिक १ गतेदेखि लागू गरिएको थियो । तर तीन महिनामै सञ्चार मन्त्रालयले घुमाउरो गरी सो निर्णयको उपादेयता नरहेको सन्देश दिएको छ ।
बोर्डसँग अनुमति नलिई फुटबल देखाउन लागेका सिनेमा हललाई कारबाहीको धम्कि दिएसँगै मुभी कोडको विषय विवादमा आएको थियो । उतिबेला हलले विकास बोर्डको धम्किका कारण फुटबल देखाउने कुरालाई रद्ध गरे पनि चलचित्र संघले मुभी कोडको विषयमा सञ्चार मन्त्रालयलाई ‘कन्भिन्स’ गर्न सफल भएको छ । योसँगै भुवन केसी उनले गरेका लगभग सबै निर्णयबाट ‘ब्याक’ हुन बाध्य भएका छन् ।
यसअघि ‘प्रेमगीत ३’ प्रकरणमा पनि सञ्चार मन्त्रालयले भुवन केसीको अडानलाई खारेज गर्दै ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै मानेर दोहोरो सेन्सर गर्नु नपर्ने निर्देशन दिएको थियो । भुवन केसीले भने हिन्दी संस्करणलाई विदेशी सरह सेन्सर गर्नुपर्ने अडान राखेका थिए । यही बीचमा भुवन केसी हप्ता दिनअघि सेन्सरका लागि कागजपत्र बुझाउने निर्णयबाट पनि पछि हटिसकेका छन् । चलचित्र घर तथा वितरकको संस्था चलचित्र संघले आन्दोलनको चेतावनी दिएपछि भुवन केसी हप्ता दिन छाडेर ४ दिन अगाडिसम्म सेन्सरका लागि कागजात बुझाउन सकिने निर्णयमा सहमत भएका थिए ।
सेन्ट्रल म्यानेजमेन्ट सिस्टम भनिने बक्स अफिसले फिल्मको व्यापारको तथ्यांक राख्ने अभिप्रायले हलमा लाग्ने फिल्मको बेग्लाबेग्लै कोड उपलब्ध गराउने गरेको छ । सिनेमा हलले यसरी बोर्डको बक्स अफिस कार्यान्वयन शाखाबाट जारी कोड राखेर मात्र टिकट काट्नुपर्ने नियम रहेको छ । तर नेपालमा हलले सेन्सर नहुँदै आफूखुसी कोड राखेर टिकट बेच्दै आएका छन् ।
बोर्ड अध्यक्ष भुवन केसी भने पहिला सेन्सर बोर्डकै निर्देशनमा हप्ता दिनको सूचना निकालिएको र शुक्रबारको निर्देशन पनि यसरी आएको बताएका छन् । उनले दुवै निर्णय गर्नेबेलामा सञ्चार मन्त्रालय र सेन्सर बोर्डले विकास बोर्डसँग छलफल नगरेको बताए ।‘सेन्सरको कुरा त्यसै पनि बोर्डको कार्यक्षेत्र भित्र पर्दैन । बोर्डले सिफारिस मात्र दिने हो,’ केसीले बताए, ‘ तर हप्ता दिन कागजात अध्ययन गर्ने समयसीमा राखौँ । भोलि राम्ररी अध्ययन नगर्दा रिलिज पछि विवाद आयो भने नराम्रो हुन्छ भन्ने कुरा सेन्सर बोर्डकै थियो । उहाँले नै सूचना निकाल्न आग्रह गरेपछि हामीले हप्ता दिनको सूचना निकालेका हौँ । तर फेरि शुक्रबार उहाँहरूले बोर्डसँग सल्लाह नै नगरी यो विषयमा पत्राचार गर्नुभएको छ ।’अध्यक्ष केसीले सञ्चार मन्त्रालयको निर्देशनलाई बोर्डले पालना गर्नुपर्ने भएकाले सोहीअनुसार सम्बन्धित निकायलाई जानकारी गराउने बताए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया