बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अदालतमा प्रतिकूल बयान दिने सरकारी साक्षी भ्रष्टाचार अभियोग खेप्दै

काठमाडौं– भ्रष्टाचार मुद्दामा प्रतिकूलमा बयान दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीलाई पनि १ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार अभियोग लगाएको छ । आयोगले अदालतमा सरकारी साक्षीका रुपमा पेश भएकी भावना महतले प्रतिकूलमा बयान दिएपछि मतियारका रुपमा भ्रष्टाचार अभियोग लगाउँदै बुधबार मुद्दा दर्ता गरेको हो ।

आयोगले मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतविरुद्ध १ लाख ५० हजार रुपैयाँ भष्टाचार गरेको मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । उक्त मुद्दामा सरकारी साक्षीका रुपमा भावना महतलाई पेश गरेको थियो । तर उनले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध आयोग अनुसन्धानमा गयो र भ्रष्टाचार मुद्दा लगाउने निर्णय पुगेको हो ।

अभियुक्त लेखा पनेरु संलग्न भ्रष्टाचार मुद्दामा घुसबापतको रकम राखिदिने उनै भावना महत थिइन् । उनले उक्त मुद्दाको अनुसन्धानको क्रममा सरकारी साक्षी बनेपछि उनलाई अभियुक्त बनाइएन । उनले पाउने सजायमा पूर्ण छुट दिँदै प्रतिवादी पनि नबनाइकन सरकारी साक्षीका रुपमा पेश गरिएको थियो ।

उनले आयोगमा दिएको बकपत्रकै आधारमा पनेरुलाई भ्रष्टाचार मुद्दा चलाएको थियो । तर, आयोगमा दिएको बकपत्रको प्रतिकूल हुने गरी अदालतमा बयान दिएपछि उनलाई पनि भ्रष्टाचार मुद्दा चलाएको हो ।

आयोगले भ्रष्टाचार गर्नेको मतियार बनेको कसूर लगाएको छ । सजायका हकमा भने कर्मचारीलाई हुने सजायको आधा मागदावी लिएको छ ।