साइबरसम्बन्धी विज्ञहरू प्रत्येक मन्त्रालयमा राख्नुपर्ने सांसदहरूको माग
काठमाडौँ- सांसदहरूले साइबर सम्बन्धी विज्ञहरू प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताएका छन् ।
सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारले हरेक मन्त्रालयमा साइबरसम्बन्धी प्राविधिक विज्ञहरू राख्नुपर्ने धारणा राखेका हुन् । उनीहरूले प्रविधिको प्रयोग गरी आपराधिक गतिविधि गर्नेहरू बढेको भन्दै सरकारले हरेक मन्त्रालयमा सचिवसरहको एक जना विज्ञ राख्नुपर्ने बताए । उनीहरूले साइबर अपराधलाई समयमा नै निर्मूल पार्न आवश्यक जनशक्तिको पूर्ति गर्न पनि सरकारसँग माग गरेका छन् ।
समितिको बैठकमा बोल्दै सांसद वामदेव गौतमले साइबर सम्बन्धी विज्ञहरू प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताए । उनले पाठ्यक्रममा नै सुरक्षाको व्यवस्थाका बारेमा समावेश गराइ अध्ययन, अध्यापन गराउनुपर्ने उल्लेख गरे । सांसद गौतमले सुरक्षा व्यवस्थाको अवलम्बन नगरे कुनै पनि बेला देशलाई क्षति हुने आशंका व्यक्त गरे ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले सरकारी निकायमा प्रयोग हुने सूचना प्राविधिक उपकरण खरिदका लागि मापदण्ड बनाउन जरुरी रहेको बताए । उनले प्राविधिक प्रयोग सम्बन्धमा समयसापेक्ष नीति तर्जुमा गर्नुपर्नेमा उनको जोड थियो । सांसद सुनारले सरकारी निकाय आवश्यकताका आधारमा वेबसाइट बनाएर प्रयोगमा ल्याउनुपर्ने, सरकारी वेबसाइट जस्तो महत्वपूर्ण कुरा सहकारी बनाउने विषयमा निश्चित मापदण्ड र नीति तर्जुमा गर्नुपर्ने र राष्ट्रिय सूचना नीति २०७३ लाई परिमार्जन गर्नुपर्ने बताए ।
त्यस्तै बैठकमा नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्तले प्रविधिको ज्ञान भएका मानिसहरूलाई पैसा धेरै दिएर भए पनि मन्त्रालयमा साइबर सुरक्षाका लागि राख्नुपर्ने बताइन् । उनले साइबर ह्याक गर्ने ह्याकरलाई कारबाही गर्न नेपालसँग ऐन नरहेकाले कसरी अपराधीलाई कारबाही गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताइन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले साइबर सेक्युरिटी फ्रेमवर्कको वर्तमान अवस्था के छ ? भन्दै प्रश्न गरे । उनले साइबरको क्षमता कम रहेको गुनासो आइरहेकाले अब सुरक्षित र भरपर्दो बनाइ विस्तार गर्न आवश्यक रहेको बताए । सरकारलाई आवश्यक हो भने महंगो रकम तिरेर भए पनि साइबर विज्ञहरू राख्नुपर्ने उनकाे भनाइ छ ।
त्यस्तै दिगो विकास तथ सुशासन समितिका सभापति प्रकाश पन्थले एउटा व्यक्तिलाई एउटा मात्रै सिम दिने व्यवस्था गरे अपराधमा केही कम हुनसक्ने बताए । उनले नेपालमा र विदेशमा बसेर साइबर अपराध गर्नेहरूलाई के कस्ता कारबाही गर्ने प्रावधान छ ? भन्दै प्रश्न गरे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया