भारतबाट नेपाल आउनेमा देखिन थाल्यो कोभिड

कञ्चनपुर- भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोभिड सङ्क्रमण देखिन थालेको छ । 'भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।'
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, 'पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।' सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ ।
'अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ', पन्तले भने, 'यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।' कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोभिडको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए ।
'अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ', उनले भने 'आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।'
नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोभिडविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् ।
त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । 'खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ' पन्तले भने । रासस

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया