मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

बैठकमा देउवाको ब्रिफिङ : बहुमत नपुग्‍ने भएपछि झन्झटतिर नलागौँ

फाइल फाेटाे

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार बन्‍न सक्ने वातावरण नभएको ब्रिफिङ गरेका छन् । आज आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा देउवाले महन्थ ठाकुरले नमानेपछि बहुमतको नपुग्‍ने बताएका हुन् । ‘बहुमतको सरकार बन्‍ने सम्भावना न्यून भएको निष्कर्ष बैठकले निकालेको छ’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने ।   

देउवाले बैठकमा एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नगर्ने अवस्थामा पुगेको र जनता समाजवादी पार्टी (जसपा) एक भएर नआएको भन्दै बहुमतको सरकार बन्‍ने सम्भावना सकिएको बताएका थिए । 

‘जसपा एक भएर आउन सकेन । माधवकुमार नेपालका सांसदले पनि राजीनामा नगर्ने भएपछि कहाँबाट बहुमत पुग्छ सरकार बनाउने संख्या ?,’ देउवालाई उदृत गर्दै एक पदाधिकारीले भने, ‘अब यो झन्झट तिर नलागौँ । जसपा मिलेर आए त म तयार भएकै हो नि । मेरो निष्कर्ष यही हो अब बहुमतको सरकार बन्‍ने संभावना छैन ।’  

बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्‍वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन आज साँझ नौ बजेसम्मको समय दिएकी थिइन् । समय सकिनै लाग्दा प्रमुख विपक्षी दल कांग्रेसले बहुमतको दाबी गर्दै राष्ट्रपति समक्ष पनि नजाने निर्णय गरेको छ ।