आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

खतिवडाको नियुक्तिमा सामाजिक सञ्जालमा व्यंग्यको बाढी

युवराज खतिवडा

भदौ १९ मा अर्थमन्त्रीबाट बाहिरिएको एक सातापछि डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीसरहको सुविधा प्राप्त गर्नेगरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । त्यसको १५ दिन नबित्दै उनको अमेरिकाका लागि राजदूतमा सिफारिश गर्ने निर्णय भयो ।

खतिवडाको पटक–पटकको नियुक्तिलाई लिएर आम मानिसमा वितृष्णा देखिन्छ । निकै अपेक्षा गरिएका तर अर्थमन्त्रीको कार्यकालमा औसत देखिएका खतिवडालाई समाजले ‘पदलोलुप चरित्र’का रुपमा लिएको सामाजिक सञ्जालमा व्यक्त मतहरूबाट बुझ्न सकिन्छ । खतिवडाको नियुक्तिपछि प्रधानमन्त्रीलाई ‘राजा’ र उनलाई ‘युवराज’ भनी व्यंग्य चल्यो ।

त्यतिमात्र होइन, अमेरिकाबाट फर्केपछि उनलाई वडा अध्यक्ष बनाउनुपर्छ भन्ने व्यंग्य पनि सामाजिक सञ्जालमा चल्यो । कतिपयले खतिवडालाई पशुपतिनाथको मूल भट्ट बनाउनमात्र बाँकी भएको टिप्पणी गरे । यस्ता व्यंग्यवाण आमजनताको निराशाको अभिव्यक्ति हो भन्ने बुझ्न गाह्रो छैन । 

खतिवडा, त्यस्तो पात्र हुन्, जसले ९ ओटा सरकारी नियुक्ति खाइसकेका छन् । खतिवडाको राजनीतिक नियुक्तिको यात्रा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्यबाट भएको थियो । उनलाई तत्कालीन अर्थमन्त्री बद्रीप्रसाद श्रेष्ठले राष्ट्रिय योजना आयोगमा नियुक्ति दिलाएका थिए । त्यसपछि उनी माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भए । उपाध्यक्ष भएको केही महिना नबित्दै नेपाल राष्ट्र बैंकको गभर्नरमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले उनलाई सिफारिश गरेका थिए ।
 
गभर्नरबाट निवृत्त भएको वर्षदिनपछि केपी शर्मा ओली प्रधानमन्त्री बने, त्यसपछि पुनः खतिवडा योजना आयोगको उपाध्यक्ष बने । उनी २०७४ को आम निर्वाचनताका पार्टीको घोषणापत्र लेखनमा सक्रिय भएका खतिवडालाई ओलीले आफ्नो दोस्रो पटक प्रधानमन्त्री हुँदा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने कोटामा राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिश गरे । राष्ट्रियसभा सदस्य भएपछि खतिवडालाई अर्थमन्त्री बनाए । 

गत फागुन २० मा राष्ट्रियसभाको सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडालाई ओलीले विनासांसद  पुनः ६ महिना अर्थमन्त्री नियुक्त गरे । उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन ओलीले राष्ट्रिय सभामा उनैलाई दोहोर्‍याएर नियुक्त गर्न जोडबल गरिरहे । तर खतिवडालाई च्यापिरहँदा आफ्नै कुर्सी हल्लिने भएपछि प्रधानमन्त्रीले पार्टीको आग्रहलाई अनुसरण गर्दै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिश गरे । 
 
१५ दिनको फरकमा मन्त्रिपरिषद्बाट खतिवडालाई पहिले मन्त्रिसरहको विशेष आर्थिक सल्लाहकार र पछि अमेरिकाका लागि राजदूतको सिफारिश भएको छ । खतिवडा कमाऊ र ग्ल्यामरका पदका निम्ति ‘वरियता’को खास वास्ता पनि गर्दैनन् । 

राज्यमन्त्री सरहको राष्ट्रिय योजना आयोग उपाध्यक्ष छाड्दै मर्यादाक्रममा आयोगकै सदस्य सरहको पद गभर्नरको पदमा गए । अर्थात्, राज्यमन्त्री विशिष्ठ श्रेणीमा झरे । मर्यादाक्रममा मन्त्री सातौं तहमा पर्छ । उनी मन्त्रीसरहको पद छाड्दै मर्यादाक्रममा १३ औं नम्बरमा राजदूत पदमा लालायित भएका छन् ।

खतिवडालाई राजदूतमा सिफारिस गरिएपछि सामाजिक सन्जालका टिप्पणी

‘उहाँले सरकार बाहिर बसेर सहयोग गर्छु भन्नुभएको प्रधानमन्त्रीले देशबाहिर भन्ने बुझ्नुभएछ ।’ - युवराज आचार्य /फेसबुक


आर्थिक सल्लाहकार भएर निवर्तमान अर्थ मन्त्रीलाई राजदूत बनाउने सल्लाह दिएका रेन्त  - डा. सुद्धांशु केसी /फेसबुक


‘राजदूतको कार्यकाल सकिएपछि कहाँ नियुक्ति खाने भन्ने पिरलोले खतिवडा डिप्रेसनमा’ - गारेपारे अनलाइन/ट्वीटर


‘धेरै सरकारी नियुक्ति खानेमा आफू पहिलो हुनु नपरोस् भनेर खतिवडाले आफू अर्थमन्त्री छँदै ईश्वर पोखरेलका सम्धि प्राडा उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउन खोजेका रहेछन् । सत्ताको तर मार्न सिपालु खतिवडा ।’ - रक्स नेपाल /ट्वीटर 


‘केपी ओलीले खतिवडा सरलाई माया गरेजसरी माया गर्ने भेटे आँखा चिम्लेर ब्या गरिदिनुहुन्थ्यो ।’- दुर्गा कार्की /ट्वीटर 


‘एउटा साथीको छोरो जन्मियो, नाम के राखौं भन्थ्यो । मैंले युवराज राख भनेको छु । ’ -   महेश गुरागाईं (कपिड) /फेसबुक 
 

'ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएछ, क्वारेन्टीनमा बस्नुपर्छ । खतिवडा सरलाई अमेरिकाको अन्तरिम राष्ट्रपति बनाइदिने हो कि @kpsharmaoli?' - इन्भोइ रेलिमाई/ट्वीटर

 

'पूर्व मन्त्री युवराज खतिवडाद्वारा अमेरिकाको राजदूत नबन्ने घोषणा, उहाँको भनाइ थियो - 'अहिलेसम्म मलाई राज्यले धेरै मौका दियो । अब बिना तलब भत्ता / बिना सेवा सुविधा राज्यलाई योगदान दिन चाहान्छु ।' यस्तै समाचार पढ्दै थिएँ । झसंग भएर ब्युँझेछु । हैट ! दिउँसो सुत्न नहुने रहेछ ।'  - बद्री पंगेनी/ट्वीटर