‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

बलेवा - पछिल्लो समय पशुमा देखिएको सङ्क्रामक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उनले निर्देशनसमेत दिएको बताए ।
सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा सापकोटाले जानकारी दिए ।
एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन् । होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो सङ्क्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको सङ्क्रमण क्रमशः बागलुङमा पनि आएको हो । पहिलो पटक अफ्रिकाको जाम्बियामा देखिएको रोग दुइ वर्ष अघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग सङ्क्रमक भएर फैलिएको सापकोटाले जानकारी गराए ।
जिल्लाका सबै पालिकास्थित पशुसेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग सङ्क्रमण भएको गाई भैँसीमा पाँच दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्को पशुमा सर्ने गरेको भेटिएको हो । त्यसका लागि गोठ सफाइ गर्ने, सङ्क्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए ।
यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या देखिएको छ । कतिपय गाईले ८० प्रतिशतसम्म दूध घटाएको र बढाउन नसकिने अवस्था भएको सापकोटाको भनाइ थियो । यो रोगको निश्चित औषधि नभएकाले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोकोलागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भइरहेको हो ।
अन्तक्र्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घरघरमा खटिएर उपचार सेवा दिएको बताए ।
कतिपय पालिकाले खोपकालागि रकमसमेत संकलन गरेको तर चाहे जति खोप नपाएको गुनासोसमेत गरेका थिए । नेपालमै अहिले यो रोगविरुद्धको खोप अभाव भएकाले औषधि उपचारमै जोड दिनुपर्ने सापकोटाले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले किसानको लागि पशु र जमिननै सबै सम्पत्ति भएकाले प्राविधिकले यो समयमा उपचारमा सहयोग गर्नुपर्ने बताए । उनले आम नागरिकलाई यो रोगबारे जानकारीसमेत दिनुपर्ने धारणा राखेका थिए ।
सहायक प्रजिअ चित्राङगत बरालले किसानको समस्या समाधानमा प्रशासन पनि गम्भीर भएको बताए ।
गण्डकीका समन्वय प्रमुखको बैठक ढोरपाटनमा
जिल्ला समन्वय समिति बागलुङको आयोजनामा गण्डकी प्रदेशका सबै समन्वय समितिका पदाधिकारीको संयुक्त बैठक ढोरपाटनमा सम्पन्न भएको छ ।
बैठकले पर्यटकीय क्षेत्र ढोरपाटनको प्रचारमा जोड दिएको बागलुङका प्रमुख अमर थापाले जानकारी दिए । उक्त भेलाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजना छिटो निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ । “हामीले बागलुङतर्फबाटै जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहल गरेका छौँ”, थापाले भने, “यो सम्भव पनि छ ।” राज्यको ध्यानाकर्षण गरेर आगामी बजेटमा प्राथमिकता दिन पनि आग्रह गरिएको उनले बताए ।
दशकअघि सर्भेक्षण भएर बागलुङतर्फ नै आयोजना निर्माण गर्ने तयारी भएपनि राजनीतिक र क्षेत्रीय किचलोका कारण काम रोकिएको थियो । उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजना निर्माण गर्नसकेमा बागलुङमै आठ सय ७२ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ ।
त्यस्तै भेलाले जिल्ला समन्वय समितिले काम गर्ने केही क्षेत्रमा कानुन अभाव भएकाले गण्डकी प्रदेश सरकार र संघीय सरकारले छिटो कानुन निर्माण गर्नुपर्ने माग पनि गरेको बताइएको छ । भेलामा पुगेका अधिकांशले ढोरपाटनको पर्यटकीय महत्वबारे बुझे पनि अझै सडक सञ्जाल निर्माणमा ढिलाइ भएको बारे चासो राखेका थिए । सालझण्डी ढोरपाटन सडक आयोजनाले यहाँ काम गरे पनि पूरा भएको छैन । बर्षातमा अझै पनि ढोरपाटन जान आउन सास्ती छ । सडक कालोपत्रे भएमा ढोरपाटनमा पर्यटक बढाउन सकिने प्रमुख थापाले जानकारी दिए । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया