मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

जसपा गिजाेलिएकाे छ : उपेन्द्र यादव

फाइल फाेटाे

काठमाडाैँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनु भन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध बैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चितता तर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरु मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए । प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चिता र अन्यौलतातर्फ लैजाने खालका भएको उनकाे दाबी छ ।

'राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धरापमा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ' उनले भने ।