गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी

झापा - मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ ।
उनले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताए । बाहुनडाँगीका अधिकांश किसानले भारतको बैग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् । यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उनको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ ।
“साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ”, उनले भने । उनले १० महिनाअघि मात्र बैग्लोरबाट रु दुई लाख ३५ हजारका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताए । जसमध्ये तीन वटा उनकै फार्ममै छन् ।
उनले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्छन् । प्रतिलिटर रु ७७ का दरले दैनिक रु ४५ हजारभन्दा बढीको कारोबार गर्छन् । विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आउनुभएको निरौलाले छ वर्षयता गाईफार्म सुरु गरेका हुन् ।
लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । “बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो”, उनले भने, “गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।” उनले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताए ।
प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत दूधमा अनुदान समेत दिँदै आएको छ । उनका अनुसार प्रतिलिटर रु दुईको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताए । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया