गण्डकीमा को–को बन्दैछन् मन्त्री ?
एमालेबाट सरकारमा सहभागी पूर्वमन्त्रीहरू दोहोरिने

पोखरा : आज गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । स्रोतकाअनुसार आज २ बजे मन्त्रीहरूको शपथ कार्यक्रम छ ।
मुख्यमन्त्री गुरुङले पहिलाको सरकारमा एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याउँदै छन् । यसका साथै मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय आफ्नै मातहत रहने गरी तयारी गरेका छन् । यसअघिको सरकारमा एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साल (उद्योग, पर्यटन वन तथा वातावरण) मन्त्रालय सम्हालेका थिए । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिने चर्चा छ ।
‘आज २ बजे शपथ हुन्छ, स्वास्थ्य मन्त्रालय बनाउने कुरा छ, अरु मन्त्रालयमा पहिलाकै माननीय दोहोरिनुहुन्छ,’स्रोतले भन्यो । मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे सोमबार आफ्ना विश्वास पात्रहरूसँग छलफल गरेका थिए । कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्रीले सोमबार रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग भेटेका थिए ।
प्रदेशमा मुख्यमन्त्रीले १ सांसदलाई मन्त्री नियुक्त गरेर विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नसक्ने चर्चा पनि थियो । बैशाख २९ गते गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद्को ठूलो दलको नेताको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् । मुख्यमन्त्री गुरुङले सो दिन कसैलाई पनि मन्त्रीको रूपमा शपथ खुबाएनन् । बुधबार नै बसेको पहिलो एकल मन्त्रिपरिषद् बैठकमार्फत् गुरुङले कोभिड–१९ कोषमा ४ करोड जम्मा गर्ने निर्णय गरे ।
प्रदेशमा गुरुङ सरकार ढाल्न विपक्षीले खेल थालेपछि गुरुङले राजीनामा दिएका थिए । २७ बैशाखमा सदनमा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । मुख्यमन्त्री गुरुङले मार्ग प्रशस्त गर्ने भन्दै १ दिन अगावै आइसोलेसनमा हुँदा नै राजीनामा बुझाएका थिए ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको एकीकरण बदर भएर पूर्ववतः नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रदेशमा सत्ता समिकरणको खेल बढेको थियो । माओवादीतर्फबाट यसअघिको गुरुङ सरकारमा सहभागी २ जनाले २५ चैतमा राजीनामा दिएका थिए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि प्रदेशमा गुरुङ सरकार ढाल्न अंकगणितीय सम्भावनाको खोजी थालिएको थियो ।
कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको यो खेलले पूर्णता भने पाउने थिएन । त्यस खेलमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएपछि भने खेल अघि बढेको थियो । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बैशाख १ गते विज्ञप्ति निकाल्दै जनमोर्चाले कांग्रेस नेतृत्व गठबन्धनलाई सहयोग गर्ने घोषणा गरे । त्यसको भोलिपल्टै विपक्षी मोर्चाले प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
मुख्यमन्त्री गुरुङले केही दिन छलफल गर्नुपर्ने भन्दै १ गते मध्यरातमा सदनको सातौँ अधिवेशन अन्त्य गरिदिए । विपक्षी मोर्चाले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विशेष अधिवेशनको माग गर्दै समावेदन दिए । प्रदेश प्रमुख शेरचनले ६ बैशाखमा १३ बैशाखका लागि बैठक डाकिन् ।
कोभिड परीक्षणपछि मात्रै बैठक राख्नुपर्ने सांसदको अडानपछि कोभिड परीक्षण गरेर १५ वैशाखमा मतदानको कार्यसूची तयार भयो । तर, विपक्षी दलका एक सांसद अनुपस्थित भएपछि अविश्वास फेल हुनसक्ने भन्दै सभामुखले हठातमा संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिदिए ।
पछि २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि विपक्षी मोर्चाले सरकार बनाउने मौका पाएपनि बहुमत पुर्याउन भने सकेनन् । राष्ट्रिय जनमोर्चाका २ प्रत्यक्ष निर्वाचित सांसदले सहयोग गर्न नसक्ने भनेपछि उनीहरू सरकार गठन गर्न चुकेका थिए ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया