साढे ७ हजारलाई एक आइसोलेसन र ४६ संक्रमितलाई एक चिकित्सक

जनकपुरधाम : प्रदेश २ को स्वास्थ्य पूर्वाधार र व्यवस्थापन निकै कमजोर देखिएको छ । प्रदेशको कूल जनसंख्या र स्वास्थ्य पूर्वाधारको अनुपात हेर्दा स्थिति दयनीय देखिएको हो । कोभिड–१९ संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । तर, स्वास्थ्य पूर्वाधारको अवस्था भने दयनीय छ ।
प्रदेशको कूल जनसंख्या अनुमानित ६१ लाख हाराहारी छ । कूल जनसंख्या र प्रदेशमा हाल उपलब्ध स्वास्थ्य पूर्वाधारको अनुपातमा निकै अन्तर छ । जनसंख्या र स्वास्थ्य पूर्वाधारको अनुपातमा ७ हजार ६३३ जना बराबर एउटा आइसोलेसन बेड, साढे ६६ हजार व्यक्ति बराबर एउटा भेन्टीलेटर र २० हजार व्यक्ति बराबर एउटा आइसीयू पर्ने अवस्था छ । स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय र अस्पतालहरूको तथ्यांक केलाउँदा प्रदेशका सबै सरकारी र निजी अस्पताल मिलाएर भेन्टीलेटर ९०, आइसोलसन बेड ७८६, एचडीयू बेड ३००, आइसीयू २५० छ ।
प्रदेशका तीन जिल्ला भेन्टीलेटर र आइसीयूविहीन छन् । निर्देशनालयका अनुसार बारा, रौतहट, सर्लाहीमा भेन्टीलेटर, आइसीयू बेड छैन । महोत्तरीमा करोडौँ रुपैयाँ खर्चिएर ५ थान भेन्टीलेटर, आइसीयू र १५ वटा एचडीयू बेड भए पनि जनशक्ति छैन । तर, स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार भेन्टीलेटर ६५, एचडीयू २९६, ओइसालेसन ७८७, आइसीयू १४१ मात्र छ । वास्तविकभन्दा निर्देशानलयको तथ्यांकमा संख्या कम भएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादव बताउँछन् । नयाँ विवरण अपडेट नभएकोले संख्या कम देखिएको उनको भनाइ छ ।
उनकाअनुसार प्रदेशमा १३ वटा सरकारी अस्पताल, २८ वटा निजी र २ वटा मेडिकल कलेज मिलाएर कुल ४३ वटा अस्पताल छन् । यी अस्पतालहरूमा मात्र १२८८ बेड छन् । जसमध्ये मात्र ७८६ बेड कोभिड उपचारको आइसोलेसनमा प्रयोग गरिएको छ ।
कोभिड महामारीसँग लड्न प्रदेशका ८ वटै जिल्लामध्ये पर्सा जिल्लाको अवस्था मात्र केही हदसम्म राम्रो देखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेकाअनुसार सरकारी र विभिन्न निजी अस्पताल गरी एचडीयू बेड ४०८, आइसीयू बेड १४५, भेन्टीलेटर ४४ वटा उपलब्ध रहेको छ ।
जसमध्ये सरकारी अस्पताल नारायणी अस्पतालमा एचडीयू ५०, आइसीयू ७५, भेन्टीलेटर २० वटा रहेको छ । प्रदेशको स्वास्थ्य जनशक्तितर्फ हेर्ने हो भने निर्देशनालयका अनुसार विभिन्न सरकारी अस्पतालहरूमा स्थायी दरबन्दी कुल १२२४ रहेको छ । जसमध्ये फिजिसियन ७०, एनोथिसियोलोजी ४, मेडिकल अफिसर १२८, नर्सिंङ अफिसर ७ , डेन्टल सर्जन १६, नर्सिंग इन्स्ट्रक्चर ५, नर्सिंग स्टाफ १४२, एनेथेसिया असिसटेन्ट ९, अनमी ९३ र एचए ३२, अहेव ८७ जना मात्र रहेको छ ।
यी जनशक्तिमध्ये कोभिड महामारीका लागि खटने चिकित्सक १९८ र स्वास्थ्यकर्मीतर्फ ३६० जना मात्र रहेको छ । हुनत दोश्रो चरणको महामारी तीब्र रूपमा फैलिँदै गएपछि प्रदेश सरकारले चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीसहित ४ सय १ जना जनशक्ति करारमा थप्न लागेको छ। हाल रहेका ९१७० संक्रमितमध्ये ६८७ जना विभिन्न संस्थागत अस्पतालमा उपचारत रहेका छन् । तथ्यांकअनसार संक्रमितको संख्याले हेर्ने हो भने ४६ जना संक्रमितमा एउटा चिकित्सक र २५ जनामा एउटा स्वास्थ्यकर्मी भागपर्ने अवस्था छ ।
यदि सक्रिय संक्रमितहरूलाई अस्पताल उपचारको आवश्यकता पर्यो भने १०२ जनामा एउटा भेन्टीलेटर, १२ जनामा एउटा आइसोलसन, ३१ जनामा एउटा एचडीयू बेड र ३७ जनामा एउटा आइसीयू बेड पर्न जानेछ ।
प्रदेशमा अहिले एचडीयू, आइसीयूभन्दा पनि भेन्टीलेटर र अक्सिजन अभावमा संक्रमितहरूको मृत्यु हुने क्रम तीब्र रूपमा बढदै गएको छ । जनशक्ति अभावमा कोभिड अस्पतालहरूमा बिरामीले उचित उपचार नपाएर समेत ज्यान गुमाउनु परेको छ । मेसु डा. प्रमोद यादवले भने भेन्टीलेटरभन्दा पनि अक्सिजन अभावमा उपचारमा समस्या भएको हो, चिकित्सकीय जनशक्ति अभाव बिरामीहरूको उपचारमा समस्या हुन गएको हो ।
जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले भने प्रदेशका जनसंख्याका हिसाबले हेर्ने हो भने जुन रूपमा कोभिड-१९ महामारी प्रदेशमा फैलिँदै गएको छ त्यो अनुसार सरकारको तयारी निकै कमजोर देखिएको छ । संक्रमण फैलिदै गएपछि सरकारले पनि आफ्नो तयारी तीब्र रूपमा अघि बढाइरहेको उनको भनाइ छ ।
तीब्र रूपमा बढदै गएको संक्रमण र प्रदेश सरकारसँग उपलब्ध जनशक्ति र स्वास्थ्य उपकरणको अवस्था कमजोर रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पनि स्वीकार गरे । उनले पूर्व तयारी गर्न नसकेको स्वीकार गर्दै ढिला भए पनि अहिले सम्पूर्ण ध्यान कोभिड महामारी रोकथाममै केन्द्रित गरेको उनले बताए । ‘प्रदेशको स्वास्थ्य सुरक्षा अवस्था पहिलेदेखिनै कमजोर थियो,’ उनले भने, ‘प्रदेश सरकार गठन भएपछि सुधार गर्ने क्रममा थियौँ । यही बेला कोभिड महामारी आयो । प्राप्त श्रोत साधनको आधारमा हामी जनशक्ति, पूर्वाधार र उपकरण थप्ने क्रममा छौं ।’
पर्याप्त बजेट नभएको कारण अस्पताल र उपकरणसहित पर्याप्त मात्रामा थप्ने सक्ने अवस्था नभएको उनको भनाइ छ । कानुनी अड्चनका कारण प्रदेशले स्थायी दरबन्दी नगरी करारमा थप्ने क्रम सुरु गरेको उनको भनाइ छ । प्रदेशका सबै सरकारी अस्पतालमा अक्सिजन आपूर्तिसँगै भेन्टीलेटर, आइसीयू र एचडीयू थप्ने कार्यमा जुटेको बताए ।

महोत्तरीमा स्थानीय तहको बेरुजु झण्डै नौ अर्ब नजिक

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

कलाकार झाकी श्रीमती सदा घरमै मृत फेला

लेनदेन आरोपमा मुछिएका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

प्रतिक्रिया