शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

संसद्‍मा प्रधानमन्त्रीले भने : मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो अन्तरआत्माले भनेको खण्डमा एक मिनेट पनि सत्तामा नबस्ने टिप्पणी गरेका छन् । 

प्रधानमन्त्रीले प्रचण्डले असार १८ गते एक सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको’ भनी दिएको विवादित अभिव्यक्तिमाथि स्पष्टीकरण दिने क्रममा यस्तो बताएका हुन् ।  

तर, उनले प्रतिपक्षले प्रश्न उठाउने बित्तिकै आफूले राजीनामा नदिने बताए । ‘के प्रतिपक्षले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?’ उनले भने । 

आफूले विवादित अभिव्यक्तिबारे प्रष्ट पार्न खोज्दाखोज्दै पनि प्रमुख प्रतिपक्षी दल एमालेले सहयोग नगरको प्रचण्डले आरोप लगाए । ‘म त सुरुदेखि नै स्पष्ट पार्नका लागि पर्खिरहेको थिएँ । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन किन भनियो ? मैले बुझेको छैन । के यही हो संसदीय अभ्यास ?’

प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको थियो । 

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै थियो । 

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलका नेताबीच बसेको बैठकबाट एमालेले संसद् चल्न दिने सहमति निस्किएको थियो ।