मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

प्रधानमन्त्री ओलीको अपीलप्रति दाहालको ध्यानाकर्षण

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष के.पी. शर्मा ओलीद्वारा राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलप्रति ध्यानाकर्षण भएको जनाएका छन् । 

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले निर्वाचन आयोगले मौन अवधि सुरु गरिसकेको समयमा मतदातालाई पार्टीका उम्मेद्वारलाई मतदान गर्न अपिल गर्नुले आचारस‌ंहिताको गम्भीर उल्लंघन भएको बताएका छन् ।

'के पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्रीसमेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्‍न गर्नु सरकारको दायित्व हो । यसविपरीत सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ,' महराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उल्लंघन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?'

विज्ञप्तिमा प्रधानमन्त्रीको कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ ।