म स्वतन्त्र बस्छु, एमालेमा फर्किने सम्भावना छैन

एमालेका शक्तिशाली उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बिहीबारको चुनावमा थापालाई पराजित गर्न देवकोटा सफल भए । देवकोटा कांग्रेस, माओवादी र एमाले माधवकुमार नेपाल पक्षको गठबन्धनबाट स्वतन्त्र उम्मेद्वारी दिएर पनि विजयी भएका हुन् । समसामयिक विषयमा राष्ट्रियसभा उपचुनावमा निर्वाचित देवकोटासँग इकागजका विष्णु विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
यो जितलाई कसरी लिनु भएको छ ?
जसरी सबैको प्रयासबाट संविधान जारी भयो । त्यसैगरी संघीयता लागू भयो । तर यसका लागि ‘जनयुद्ध’ भयो । जनआन्दोलन भयो र मधेस आन्दोलन भयो । धेरै संघर्ष भयो । तर यतिका धेरै बलिदानले आएको संघीयता राम्रोसँग कार्यान्वयन भइरहेको थिएन । संविधानमाथि प्रहार भएको छ । संघीयता कार्यान्वयनमा ‘कन्ज्युस्याईं’ भइरहेको छ । यसविरुद्ध जसरी दलहरू एक भए । नेताहरु एक भए । संघीयता पक्षधर र संविधान मान्ने शक्ति एक भए । त्यसकै निम्ति मेरो उम्मेद्वारी थियो । कांग्रेस, माओवादी, जसपा र एमालेको पनि मतले पनि जित्न सफल भएको छु । यो जित मेरो मात्रै होइन, संघीयता चाहनेको, संघीयताको पक्षमा लागेका सरोकारवाला, नागरिक समाज, पत्रकार सबैको जित हो भनेर बुझेको छु ।
राष्ट्रियसभामा तपाईंको भूमिका कस्तो हुन्छ ?
राष्ट्रिय सभामा मेरो प्रमुख मुद्दा भनेकै स्थानीय तहका जनप्रतिनिधिको एजेन्डा उठाउने हो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन ‘कन्जुस्याईं’ गरेको छ । त्यसका विरुद्ध बोल्छु । प्रदेश र स्थानीय तहलाई अधिकार दिलाउन अधिकतम प्रयत्न गर्छु । त्यसविरुद्ध आवाज उठाउँछु । मैले मेरा लागि होइन, सबै राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिको आवाज उठाउने हो । त्यसैका लागि मलाई जिताइएको हो ।
अब एमालेमा फर्किनुहुन्छ कि स्वतन्त्र नै बस्नुहुन्छ ?
म कांग्रेस, माओवादी, जसपा र एमालेकै पनि साझा प्रतिनिधि हो । एमालेको भोट नपाएको भए मैले जित्न गाह्रो पर्थ्यो । कांग्रेस र माओवादीले साझा उम्मेदवार बनाउनु भयो । त्यसैले म कुनै एउटा पार्टीमा रहेर सबैको साझा आवाज उठाउन सक्दिनँ । त्यसकारण म एमालेमा फर्किन सक्दिनँ । एमालेमा फर्किने कुनै सम्भावना छैन । स्वतन्त्र नै बस्छु । मेरो आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्छु ।
अन्तिममा के भन्नु हुन्छ ?
धेरैको बधाई र शुभकामना आइरहेको छ । अब यसलाई कायम राखेर सबैको साझा मुद्दाको सम्बोधनका लागि संघर्ष गर्नुपर्ने चुनौती हो । जसरी सबै दलले मलाई विश्वास गरेर मलाई भोट दिएर जिताउनु भएको छ । यो ठूलो चुनौती र अवसर हो । संविधानमाथि प्रहार हुँदा पनि मलाई भोट दिइएको हो । अब संविधान र संघीयता दुवै बचाउनुछ । संघीयतालाई थप विकसित मोडलमा लैजानुछ । संघीयता कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्छ । सबैले संविधानअनुसार काम गर्नुपर्छ । त्यसका लागि आवाज उठाउनुपर्छ । म इमान्दार भएर जनप्रतिनिधिको आवाज उठाउँछु ।
र, यो पनि...
यो चुनाव ‘गर या मर’को अवस्था हो, स्वतः जित्छु

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

प्रतिक्रिया