शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरूले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताएका छन् ।

शुक्रबार संघीय संसद सचिवालयले काठमाडौँमा आयोजना गरेको संघीय संसद् र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीयतालाई जोगाउनका निम्ति सभालाई निष्पक्ष रूपमा चलाउनुपर्ने बताए । उनले आफूहरूको व्यवहारले नै संघीय व्यवस्था बलियो हुने जिकिर गरे ।

तिमिल्सिनाले संघीयता ल्याउनका लागि लडेका दलहरू पनि भाषणको रटानमा नलागी व्यवहारबाट पुष्टि गर्न लाग्नुपर्ने बताए । उनले जनताले सुशासन र आर्थिक समृद्धि खोजेको भन्दै दलहरूले जनताको सो आकांक्षालाई पूरा गर्न लाग्नुपर्ने बताए । उनले जनताले महसुस गर्ने गरी आर्थिक विकास, सुशासन दिन सकेमा संघीयताको विरोध गर्नेहरू कम हुने उल्लेख गरे ।

उनले विपक्षीले सधैं नराम्रो कुरा मात्रै नभन्ने भन्दै सरकारले संसदमा विपक्षीले बोलेका कुराहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए । विपक्षीका कुरालाई पनि सरकारले आत्मसात गरेर कमी, कमजोरी सुधार्नुपर्ने उनको भनाइ छ ।