पानी नपर्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएनन्

चितवन- पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने धानको बिउ बुढिन थालेको छ ।
नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बिउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् ।
विशेषगरी भरतपुर महानगरपालिकाका किसान बिउ बुढिँदै गएपछि चिन्तित बन्न थालेका छन् । अहिले भरतपुर महानगरपालिकामा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्र चितवनको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम भरतपुर महानगरपालिकामा भएको कार्यालयकी कृषि अधिकृत सुरुचि त्रिपाठीले जानकारी दिइन् ।
उनले भनिन्, 'सिँचाइको अभावका कारण बिउ बुढियो भन्दै दैनिक दुई तीन जना किसान कार्यालय आउने गर्नुभएको छ ।' सिँचाइका लागि बोरिङको माग गर्दै किसानहरू कार्यालय आएको उनले जानकारी दिइन् । भरतपुर महानगरपालिका–४, ५, १४, १५, १९, २० र २२ मा अहिलेसम्म पनि रोपाइँ हुनसकेको छैन । समयमा रोपाइँ नहुँदा उत्पादनमा कमी आउने उनको भनाइ छ ।
कार्यालयको तथ्याङ्कअनुसार खैरहनी र राप्ती नगरपालिकामा सतप्रतिशत, रत्ननगर नगरपालिकामा ८५ प्रतिशत, कालिका नगरपालिकामा ८० प्रतिशत र माडी नगरपालिकामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाभित्र नारायणी लिफ्टबाट सिँचाइ हुने क्षेत्रमा रोपाइँ ढिला भएको हो । नारायणी लिफ्टले पानी समयमा नछोड्दा रोपाइँ हुनसकेको छैन ।
नहरमा पर्याप्त मात्रामा पानी नछोड्दा सिँचाइको अभावले रोपाइँ ढिलाइ भएको भरतपुर–१४ का किसान सपना विकले बताइन् । करिब दुई बिघा क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि सिँचाइको अभावले बिउ बुढिएको उनले गुनासो गरिन् ।
बिउ ४५ दिनभन्दा बढीको भइसक्दा समेत धान रोप्न नपाएको गुनासो शिवनगरकै राजन शर्माले गरे । गत वर्ष यो समयमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार विद्युत् आपूर्तिका कारण ठूलो पम्प नचलेकाले समस्या भएको हो । आठ दिनसम्म सानो पम्प मात्रै चलेको र आजदेखि ठूलोसमेत चलेकाले क्रमशः रोपाइँ हुँदै जाने उनले बताए ।
जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचार जस्ता धान रोप्ने गरिएको छ । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया