बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

संक्रमणमुक्त भएको २४ घण्टा नपुग्दै मृत्यु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई ३१ बैशाखमा कोभिड–१९ पुष्टि भयो । धनगढीको एक निजी मेडिकलमा अक्सिजन लेभल चेक गर्दा ६७ देखाएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भए । 

डेढ हप्तासम्म कोभिड–१९विरुद्ध लडेपछि शनिबार बिहान भरतको पीसीआर रिपोर्ट नेगेटिभ आयो । तर, रिपोर्ट नोगेटिभ आएको २४ घण्टा नपुग्दै उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । शनिबार राति १२ बजे उनको मृत्यु भएको हो । 

भरत मेडिकलका सञ्चालकसमेत थिए । धनगढी उपमहानगरपालिका–७ मा उनको मेडिकल छ । उनलाई कडा खालको निमोनियाले आक्रमण गरिसकेको हुँदा कोभिड रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको उपचारमा संलग्न डाक्टरको भनाई छ । 

अर्कोतर्फ मृतकका भाई लोकनाथ योगीले भने रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आइसक्दा पनि मृत्यु भएको बताए । ‘दिउसो रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै दाईलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो,’ लोकनाथले भने, ‘साँझ फेरि स्वास्थ्य अवस्था बिग्रिएको र राति नै मृत्यु भएको रहेछ ।’ 

लोकनाथका अनुसार रिपोर्ट नेगेटिभ आएपछि भरतले झण्डै एक घण्टासम्म परिवारका सदस्य र आफन्तसँग पनि कुराकानी गरेका थिए ।