सिजनमा किसानले कहिल्यै पाउँदैनन् मल
हेटौंडा : कृषि प्रधान देश नेपाल भनिए पनि किसानले भनेको समयमा कहिल्यै मल पाउँदैनन् । यो समस्या अहिलेको मात्र नभई एक दशकदेखि मकवानपुरका किसानले झेल्दै आएको समस्या हो । मकै गोडेर मल हाल्ने समय जब आउँछ, तब मलको अभाव सिर्जना हुन्छ । धानमा मल हाल्ने समय आयो मल छैन । यस्तै समस्या झेल्दै किसानहरु खेतीपाती गर्दै आइरहेका छन् ।
बजारमा विशेष गरी रासायनिक युरिया मलको अभाव हुने गरेको छ । कहिले कृत्रिम अभाव । कहिले ठेकेदारले समयमै मलको आपूर्ति नगर्दा यस्तो समस्या आइरेहको कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडा शाखाले जनाएको छ । जिल्लामा बैशाख महिनामा कृषि सामाग्री लिमिटेडले मल आयात गर्न सकेन । ढुवानीकर्ता परिवर्तन हुँदा मल आयात नभएको कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुरका प्रमुख बल बहादु्र पन्थले बताए ।
७० प्रतिशत मलको आपूर्ति गर्ने जिम्मा पाएको कम्पनिले मल आयात गर्न नसक्दा मलको चरम अभाव सिर्जना भयो । साल्ट ट्रेडिङ हेटौंडा शाखाले केही टन मल आयात गरेपनि त्यसले मागको पूर्ति गर्न सकेन । यद्यपि साल्ट ट्रेडिङले मकवानपुरमा ३० प्रतिशत मलको माग पूर्ति गर्दै आएको छ ।
यतिबेला मकवानपुरका दश वटै स्थानीय तहका किसान मल नपाउँदा समस्यामा परेका छन् । बारी र खेतमा लगाएको मकै, चैते धानमा समेत मल हाल्न नपाउँदा किसानहरु समस्या परेका हुन । सिजनमा समेत मल नपाउँदा समस्या भएको मकवानपुरगढीका किसान शम्भुप्रसाद हुमागाई बताउँछन् । निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा किसानहरू झनै चिन्तित बनेका छन् ।
अहिले जिल्लामा केही मल उपलब्ध भए पनि निषेधाज्ञाका कारण वितरण हुन सकेको छैन । मल पाउन मुस्किल भएको अवस्थमा धानको बीउ राखेका किसानहरू थप मर्कामा परेका छन् । जिल्लाका अधिकांश किसानहरुले धानको बीउ राखिसकेका छन् । समयमा मल नपाउँदा कृषि उत्पादनमा कमी आउने भएको कारण चिन्तित बन्नुपरेको कृषक राजकुमार नहर्की भन्छन् ।
अहिले किसानको माग अनुसार मल पाइदैन । कृषि सामाग्री कम्पनीले मंगलबार मात्रै जिल्लामा १ सय टन युरिया मल वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका सहकारीहरुलाई कम्पनीले मल वितरण गरेको हो । १ सय १७ सहकारीमध्ये ३५ सहकारीलाई मल वितरण भएको कृषि सामग्रंी कम्पनि लिमिटेड हेटौंडाका प्रमुख पन्थले जानकारी दिए ।
जिल्लामा ५ गाडि मल आएको र सोही वितरण भएको थियो । ‘मल आउने क्रम जारी छ, अहिले थोरै–थोरै आउँछ, आएपछि सबै सहकारीहरुलाई वितरण गछौं ।’ उनले भने । यसरी सहकारीलाई २५ बोरा, ३५ बोरा मल वितरण हुँदा किसानहरुले २० किलो, १५ किलो मात्रै मल प्राप्त गर्छन । समानुपातिक ढंगले सबै सहकारीहरुलाई मल वितरण गरिए पनि किसान मलको अभाव भोग्न सिजनमै बाध्य छन् । हेटौंडा बजार क्षेत्रमा भन्दा ग्रामिण भेगमा मलको माग र खपत दुवै बढी छ । मल अभावको समाधान भने अझै हुन सकेको छैन ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया