बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

बुद्ध जयन्तीमा शुभकामना दिँदै दाहालले भने- संघर्षमा उत्रिनु अब एक मात्र विकल्‍प

फाइल तस्बिर

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २५६५ औं बुद्ध जन्मजयन्तीको शुभकामना दिएका छन् । बुधबार बुद्ध जन्मजयन्तीको शुभकामना दिँदै दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्‍याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 'बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्' दाहालले लेखेका छन् ।

'सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं । बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन । पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्षका लागि आग्रह गर्दछु' दाहालले लेखेका छन् ।

त्यसैगरि आजकै दिन परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि दाहालले शुभकामना दिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्‍न भूमिका निर्वाह गर्ने विश्वास उनले लिएको बताएका छन् ।