प्रदेश र स्थानीय तहलाई अधिकार नदिएसम्म संघीयता कार्यान्वयन हुँदैन : राष्ट्रपति पौडेल

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियताको मूलजडो मधेशमा रहेको कुरा सिंहदरबारमा बस्नेहरूले बुझ्नुपर्ने बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्र भवनको उद्घाटन गर्दै उनले देशकाे एक-एक इन्च भूमि मधेशी जनताले जोगाएर राष्ट्रियता देखाएको कुरा सिंहदरबारमा बस्ने शासकहरूले बुझ्नु पर्ने आवश्यकता रहेको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रपति पौडेलले भने, 'देशमा संघीयता आएको ८ वर्ष बित्न लाग्दा पनि संघीय शासकहरूले अधिकार दिनबाट कन्जुस्याइँ गरेको कारण कार्यान्वयनमा आउन सकेको छैन । जबसम्म स्थानीय तह र प्रदेश दुवैलाई संविधान अनुरूप अधिकार बाँडफाँट गरिँदैन तबसम्म संघीयता कार्यान्वयनमा आउन सक्दैन ।'
खासगरी देशका मुख्य तीन शासकहरू प्रचण्ड, देउवा र केपी ओलीलाई बोलाएर सम्झाउँदै गरेको जिकिर गर्दै राष्ट्रपति पौडेलले भने, 'यहाँबाट गएर भन्छु हेर्नुस् तपाईंहरूले अधिकार दिनमा गरेको कन्जुस्याइँ नगर्नुस् तपाईंहरूले चाहेमा संघीयता कार्यान्वयनमा आई देश समृद्धि र विकासतर्फ उन्मुख हुनेछ यो अठोट गर्नुस् ।'
साथै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आफूलाई खुसी लागेको समेत बताए । उनले भने, 'यसले मधेसमा वर्षौंदेखि व्याप्त रहेको समस्या समाधान भएको र यसले सामाजिक न्याय र कानुनी राज्यको समेत अनुभूति गराएको छ ।'
राष्ट्रपति पौडेलले मधेसलाई कृषिको आधार भूमि बनाउन सकिने भनाइ राखे । उनले पहाडको जल र तराईको अन्न नेपालको समृद्धिको आधार बन्न सकिने बताए । यस्तै उनले मधेसमा देखिएको कृषि र सिँचाइको समस्यालाई समाधान गर्नका लागि आफूले वर्षौंदेखि आवाज उठाउँदै आएको पनि उल्लेख गरे । उनले भने, 'म पदमा जाँदा सिँचाइको केही समस्या समाधान भएको थियो, अब थप समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।'
उनले आफू शान्ति मन्त्री हुँदा मधेस आन्दोलनका क्रममा २२ बुँदे सहमति गरेको स्मरण गर्दै यसले संविधान निर्माणको आधार भूमि खडा गरेको कुरामा जोड दिँदै मधेसमा देखिएको सामाजिक न्याय र संघीयाता लोकतन्त्रलाई समृद्ध बनाउनुपर्ने सम्बोधनको खाँचो रहेको भने ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई अधिकार नदिइएको कारण संघीयता अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको आरोप लगाए । उनले प्रदेशलाई प्रशासन र निजामतीको अधिकार नदिई संघीय सरकारले आफ्नै मातहतमा राखेको कारण काम गर्न समस्या भइरहेको भन्दै ८ वर्ष बित्न लाग्दा पनि संघीयता कार्यान्वयनमा आएका नसकेको महसुस गरेको बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उनलाई नागरिक अभिनन्दनसहित मायाको चिनो दिएर स्वागत समेत गरेका थिए । यस्तै प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उनलाई मायाको चिनो दिई सम्मान गरेका थिए । यसअघि बिहान जानकी मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा अर्चना गरेका थिए ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया