शिक्षक र सरकारबीच भएको सम्झौतालाई समेटेर पुनः विधेयक पेस गर्न सांसदहरूको जोड

काठमाडौँ- सांसदहरूले संसदमा पेस भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा शिक्षक र सरकारबीचको सम्झौतालाई समेटेर प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसदहरूले पेस भएको शिक्षा विधेयक फिर्ता लिएर फेरि शिक्षक र सरकारबीच भएको सम्झौतालाई विधेयकमा समेटेर पुनः प्रस्तुत हुनुपर्ने बताएका हुन् । यो विधेयकको केन्द्रविन्दु शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, अभिभावक भएको भन्दै उनीहरूको आवाजलाई समेट्नुपर्ने बताएका छन् ।
सांसदहरूले विद्यालय शिक्षा विधेयकले शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताए । संवैधानिक शिक्षा सेवा आयोग र शिक्षक काउन्सिलको व्यवस्था हुनुपर्ने सांसदहरूको जोड छ । सांसदहरूले विधेयकमा संघीयतामा नै नरहेको जिल्ला शिक्षा कार्यालय ब्यूँताउने विषय उल्लेख भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताएका छन् । नेपालको शिक्षालाई विश्व बजारमा बिक्ने गरी ल्याउनुपर्ने र विद्यालयको सबलीकरणमा सरकार गम्भीर बन्नुपर्ने बताए । शिक्षा शीर्षकमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गरिनुपर्ने सांसदहरूको जोड छ ।
यो विधेयक विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका निम्ति र विदेशिने विद्यार्थीलाई रोक्ने गरी आउनुपर्ने बताएका छन् । शिक्षक, विद्यार्थी कर्मचारीले आन्दोलन नगर्ने गरी यो विधेयक पुनर्लेखन गरेर आउनुपर्नेमा सांसदहरूको जोड छ । संसदमा सांसद तारा लामा तामाङले विधेयक फिर्ता लिएर शिक्षकसँग भएको सम्झौता समावेश गरी सरोकारवालाको मात्रै नभई राष्ट्रको विधेयक देखिने गरी प्रस्तुत हुनुपर्ने बताइन् । उनले यो विधेयकले शिक्षकका हक अधिकारहरू समेट्नुपर्ने बताइन् ।
सांसद प्रतिक्षा तिवारीले संविधानको मर्म र भावनाअनुसार शिक्षा विधेयक प्रस्तुत नभएको बताइन् । उनले ५२ वर्षपछि आएको यो विधेयकले विद्यार्थी र शिक्षकको उचित सम्बोधन गर्न नसकेको बताइन् । उनले दक्ष र सक्षम व्यक्ति उत्पादन गर्ने गरी शिक्षा विधेयक आउनुपर्ने बताइन् ।
सांसद ईश्वरी घर्तीले अहिलेको शिक्षा विधेयकले मकै रोपेर भटमासको अपेक्षा गरेजस्तो भएको बताइन् । उनले शिक्षा विधेयकलाई सबैको सर्वस्वीकार्य हुने गरी अघि बढाउनुपर्ने बताइन् । उनले सरकारले नै शिक्षा विधेयक तयार पारेको हो भने यती धेरै आन्दोलन किन ? भन्दै प्रश्न गरिन् । घर्तीले सरकारले शिक्षा र विद्यार्थीमाथि पर्याप्त लगानी गर्न सरकार डराएको बताइन् ।
सांसद सूर्यप्रसाद ढकालले सरकारले शिक्षक र कर्मचारीसँग गरेका सम्झौताहरू अक्षरश पालना गर्नुपर्ने बताए । उनले शिक्षकलाई निजामती सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । शिक्षक नियुक्ति शिक्षा सेवाबाट मात्रै हुनुपर्ने बताए । ढकालले विद्यालय भवन निर्माण एउटै द्वारबाट हुनुपर्ने र शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने विषय विधेयकमा समेट्नुपर्ने बताए ।
सांसद राजेन्द्रकुमार केसीले नेपालको शिक्षा प्रणालीबारे सर्वदलीय छलफल आवश्यक रहेको बताए । उनले अहिलेको शिक्षाले रोजगारी र सीप नदिएको बताए । सांसद राजेन्द्रकुमार केसीले शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्न जरुरी रहेको बताए । केसीले अहिले पनि हजारौं विद्यार्थी रोजगारीका लागि विदेशिन बाध्य भएको भन्दै शिक्षालाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताए । उनले गरिखाने शिक्षा प्रदान गर्नुपर्ने भन्दै शिक्षित बेरोजगार हुनु मुलुकका लागि खतरनाक कुरा भएको बताए ।
सांसद नारायणी शर्माले विद्यालय शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाएर अघि बढाउनुपर्ने बताए । उनले शिक्षालाई सत्ता पक्ष र प्रतिपक्ष भन्दा पनि सबैको सहमति र सहकार्यबाट अघि बढाउनसके त्यसले दीर्घकालीन फाइदा पुग्ने बताए । सांसद शर्माले शिक्षक र सरकारबीच भएको सम्झौता विधेयकमा समेटिनुपर्ने बताए । शिक्षक नियुक्ति एउटै बाटोबाट हुनुपर्ने उनको भनाइ छ ।
सांसदहरूले विद्यालय शिक्षा विधेयकलाई सरोकारवालाको छलफलसहित सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया