बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

एलिना चौहानले सञ्‍चारमाध्यमलाई भनिनः यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ ?

काठमाडौँ- गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको धारणा राखेकी छन् । केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध वियोगमा परिणत भएको समाचार आएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको दाबी गरेकी छिन्।

‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ? के कसैलाई मैले बनाउन लगाएको हो ?’ उनले सामाजिक सञ्‍जालमा लेख्दै भनेकी छिन् । उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधी आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकट गरिन्।

उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा सञ्चारकर्मीहरूले कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले तेता तर्फ ध्यान दिन आग्रह गरेकी छिन् ।

'म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरूले सोचिदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरूले खोजी पत्रकारिता गरेर समय वर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नु हुन्छ यसले मेरो मानसपटलमा कति हानि पुर्‍याएको छ ?,' उनले प्रश्‍न गर्दै भनेकी छन् ।