सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

चाइना रेल्वे पुनरावेदनमा गएपछि हिमालयन र बीओकेको पैसा फिर्तामा ढिलाइ

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पुरानो ठेकेदार चाइना रेल्वे ब्युरो १५ सँग चिनियाँ अदालतमा मुद्दा लडिरहेका दुई बैंकले काउन्टर ग्यारेन्टीबापत्को रकम प्राप्त गर्ने समय फेरी लम्बिएको छ । 
कात्तिक तेश्रो साता चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले हिमालयन बैंक र बैंक अफ काठमाण्डूको पक्षमा फैसाला गरेपछि उनीहरुले उक्त ठेकेदारले ग्यारेन्टी (जमानत) ल्याएको चिनियाँ बैंकसँग पैसा फिर्ता माग गर्दै पत्र पठाएका थिए । 
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ब्युरो १५ ले चाइना कन्स्ट्रक्सन बैंक (सीसीबी)बाट ल्याएको बैंक ग्यारेन्टीमा हिमालयन बैंक र बैंक अफ काठमाण्डूले काउन्टर ग्यारेन्टी दिएका थिए । चिनियाँ बैंकले दिएको ग्यारेन्टी मेलम्ची खानेपानी आयोजनाले लिन नमानेपछि सीसीबीको विश्वासमा दुई नेपाली बैंकले काउन्टर ग्यारेन्टी दिएका हुन् । सीसीबीको जमानतमा हिमालयन बैंकले ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी दिएका थिए ।
सीसीबीसँग झण्डै ८ वर्षअघि प्राप्त गर्नुपर्ने बैंक ग्यारेन्टीबापत्को रकम चिनियाँ अदालतमा उक्त ठेकेदारले मुद्दा दायर गरेपछि रोकिएको हो । मेलम्चीको ठेक्का एकपक्षीय रुपमा तोडेको उक्त ठेकेदारले बैंक ग्यारेन्टी रोक्का गर्न माग गर्दै उक्त अदालतमा मुद्दा दायर गरेको थियो । 
झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले नेपाली बैंकहरुको पक्षमा मुद्दा फैसला गर्दै ठेकेदारलाई पुनरावेदनका लागि १५ दिनको समय दिएको थियो । 
उक्त ठेकेदारले पुनः उच्च अदालतमा पुनरावेदन गरेको छ । झण्डै चार वर्षअघि झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले ठेकेदारको पक्षमा फैसला गरेपछि नेपाली बैंकहरुले त्यहाँको उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावदेनमाथि सुनुवाइ गर्दै उच्च अदालतले पुनः सुनुवाई गर्न अर्थात् रिट्रायलका लागि झेङ्झाउ पिपुल्स कोर्टमै पठाएको हो । रिट्रायलमा भने हिमालयन र बैंक अफ काठमाण्डूले जितेका थिए । 
मुद्दा जितेपछि सीसीबीसँगको पत्राचारमा दुवै बैंकले उक्त ठेकेदारले दिइएको १५ दिनको समयसीमामा पुनरावेदन नगरे काउन्टर ग्यारेन्टीको पैसा फिर्ता पठाउने जवाफ पाएका थिए । 
‘मुद्दा जितेपछि पैसा फिर्ता आउनेमा आशावादी थियौं,’ हिमालयन बैंकका सीईओ अशोक राणाले भने, ‘ठेकेदार पुनरावेदनमा गएपछि यो प्रक्रिया अब कम्तीमा पनि दुई महिना लम्बिएको छ ।’
चाइना रेल्वे ब्यूरो १५ सँगको मुद्दाको पुनः सुनुवाइमा मुद्दा जितेपछि दुई बैंकले सीसीबीको ग्यारेन्टीमा मेलम्ची खानेपानी आयोजनाको उक्त ठेकेदारलाई प्रदान गरिएको काउन्टर ग्यारेन्टीको पैसा फिर्ता गर्न माग गर्दै २१ कार्तिकमा पत्राचार गरेका थिए । 
नेपाली बैंकहरुले काउन्टर ग्यारेन्टी दिएको रकम चाइना रेल्वेले ठेक्का तोडेपछि मेलम्ची खानेपानी आयोजना विकास समितिले जफत गरिसकेको छ । चाइना रेल्वेले ठेक्का तोडेर भागेपछि मेलम्चीले हिमालयन र बीओकेसँग  बैंक जमानतबापत्को रकम मागेको थियो । 
सुरुमा दुवै बैंकले ठेकेदारले चीनमा मुद्दा दायर गरेकाले चाइन कन्स्ट्रक्सन बैंकसँग जमानीको पैसा लिन नसकेको भन्दै आलटाल गरेका थिए । तर नेपाल राष्ट्र बैंकले २०७० कार्तिक २५ मा चाइना रेल्वेको जमानीबापत्को पैसा मेलम्ची विकास समितिलाई बुझाउन निर्देशन दिएपछि उनीहरु बाध्य भएर मेलम्चीलाई उक्त जमानी बापत्को रकम भुक्तान गरेका थिए । चिनियाँ बैंकसँगको काउन्टर ग्यारेन्टीबापत्को रकम फिर्ता लिने क्रममा ठेकेदार कानुनी लडाइँमा गएपछि वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले चिनियाँ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र उनीहरुसँग कुनै कारोबार नगर्ने घोषणा समेत गरेको थियो ।