बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सजावटका लागि लुकीछिपी प्लाष्टिकका फूलको प्रयोग भएको सूचना

काठमाडौँका पार्टी प्यालेस र होटलहरू प्रहरीको निगरानीमा

फाइल तस्बिर

काठमाडौँ- सजावटका लागि लुकीछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरूमा निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले गत साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ । 

‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि महानगरपालिकाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउन हाम्रो दायित्व हो । व्यवस्थापन गर्नु पर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ,’ यस प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘अनुरोधलाई अटेर गरेर प्लाष्टिकका फूलको प्रयोग भेटिए कारबाही गर्छौं ।’ 

प्लाष्टिकजन्य वस्तुका कारण सिर्जित फोहोर घटाउन तथा वातावरणमा हुने ह्रास जोगाउन प्लाष्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाइएको छ । 

सामान्यतया ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानी नै गर्छ ।