बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

टिकटकले युरोपका लागि समर्पित एसटीइएम फिड ल्याउँदै

काठमाडौँ- चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले युरोपका लागि समर्पित 'एसटीइएम फिड' ल्याउने भएको छ ।

अमेरिका र बेलायतमा बढ्दो दबाबको सामना गरिरहँदा टिकटकले आफ्नो एपमा शैक्षिक सामग्रीलाई बढाउने आफ्नो प्रतिबद्धतास्वरूप एसटीइएम फिड विस्तार गर्न लागेको टेकक्रन्चले जनाएको हो ।

गत वर्ष अमेरिकामा पहिलो पटक संचालनमा ल्याएको एसटीइएम फिड बेलायत र आयरल्यान्डमा सुरु गरी युरोपभरि विस्तार गर्ने भएको हो ।

यससँगै टिकटक एपमा १८ वर्षमुनिका प्रयोगकर्ताका लागि 'फर यू' तथा 'फलोइङ' फिचरसँगै एसटीइएम फिड देखिनेछ । उक्त फिडमा अंग्रेजी भाषामा विषयवस्तु भएपनि अन्य भाषामा आफैँ ट्रान्सलेट हुने बताइएको छ ।

गत फेब्रुअरीमा युरोपियन युनियनले टिकटकले डिजिटल सर्भिस एक्टको उल्लंघन गरे वा नगरेको बारे छानबिन गरिरहेको जनाएको थियो ।