छट्पटिए माधव नेपाल, लट्पटिए प्रचण्ड

काठमाडौँ- वर्तमान सत्ता समीकरणमा अविश्वास देखिएको छ । खासगरी बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससहितको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण फेरि एक पटक तरंगित बनेको हो । बिहीबार स्वयं प्रधानमन्त्रीले माधव नेपालले गठबन्धन नछोड्ने दाबी गर्नु पर्यो । उनले बिहीबार एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग बालुवाटारमा एक घण्टा लामो छलफलसमेत गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा सरकार गठनमा सहकार्य गर्न जसपा नेपाल, लोसपासहित एकीकृत समाजवादीलाई छलफलका लागि बोलाएका थिए । यी चार दल एक ठाउँमा आएमा मधेश प्रदेशमा सरकार बन्ने अवस्था रहेको छ । सभापति देउवाले अध्यक्ष नेपाललाई गठबन्धन छाडेर मधेश प्रदेशबाट वैकल्पिक गठबन्धनको शुरुवात गर्न प्रस्ताव गरेका थिए ।
अध्यक्ष नेपालको कांग्रेस सभापति देउवासँगको राम्रो सम्बन्ध अहिले सत्ता गठबन्धनका लागि टाउको दुखाईको विषय बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक एकीकृत समाजवादीमा फुट ल्याउने प्रयास यसबीचमा नगरेका होइनन् ।
तत्कालिन एमालेसँग फुट्दा नेपालसँगै सडकमा देखिएका प्रचण्ड एमालेसँग मिलेर सरकार गठन गरेसँगै बैठकमा समेत बोलाउन छाडेको समाजवादी पार्टीभित्र चर्चा हुने गरेको छ । अहिलेको गठबन्धनमा एमाले आएसँगै नेपालले आफ्नो महत्व घटेको महसुस सार्वजनिक कायर्क्रमहरूमै बताउँदै आएका छन् ।ओलीसँग लट्पटिएका प्रचण्डले खासै महत्व दिन छाडेसँगै सरकारमै बस्ने कि के गर्ने भन्नेमा नेपाल अन्यौलमा छन् । नेपाल यति छट्पटिएका छन् कि कहिले सत्ता गठबन्धनको बैठकमा पुग्छन् भने कहिले विपक्षी दलहरूको बैठकमा पुग्छन् ।
यो क्रम अहिले पनि जारी रहेको छ र एकीकृत समाजवादीका नेता खनाललाई यसमै प्रयोग गर्ने रणनीति रहेको छ । तर प्रतिनिधि सभामा रहेका १० सांसदमध्ये खनालको साथमा कुनै सांसद नरहेको बुझिन्छ । एकीकृत समाजवादीका लगभग सबै सांसदसँग माधव नेपालको राम्रो सम्बन्ध रहेका कारण पनि तत्काल जसपा नेपालमा जस्तो फुट गराउने सत्ता गठबन्धनको प्रयास सफल हुने देखिँदैन ।
हालै प्रधानमन्त्रीले लिएको विश्वासको मतमा १५७ मत पाएका थिए । एकीकृत समाजवादीले तत्काल सरकार छाडेमा सरकार समस्यामा परिहाल्ने अवस्था त छैन तर सरकारबारे प्रश्न अवश्य उठ्ने छ । प्रधानमन्त्री प्रचण्डले पनि एकीकृत समाजवादीले गठबन्धन छाड्ने सक्ने अनुमान गर्दै बिहीबार मधेश प्रदेशको मुख्यमन्त्री जनमतलाई दिने सहमति गरेका छन् । यसले उनको केन्द्रको सरकार बचाउने उनको रणनीति रहेको छ । तर मधेशमा सरकार बनाउन पनि एकीकृत समाजवादी र लोसपाको भूमिका निर्णायक छ । त्यसैले जनमतको नेतृत्वमा तत्काल सरकार बन्ने सम्भावना पनि देखिँदैन ।
अर्को महत्वपूर्ण विषय जसपा नेपालको विभाजनबारे सर्वोच्चको फैसला रहेको छ । अहिले विपक्षी दल कांग्रेस, सत्ता गठबन्धनका दलहरू सो फैसला पर्खिरहेका छन् । सो फैसलाले पनि धेरै हदसम्म सरकारको भविष्य तय गर्दछ । सर्वोच्चले जसपा नेपाल विभाजनको विपक्षमा फैसला दिएमा केन्द्रको सरकार नै संकटमा पर्ने सम्भावना देखिन्छ ।
अर्कोतर्फ सहकारीका समस्या छानबिन गर्न संसदीय समिति गठन भएसँगै अब यसले कसरी छानबिन गर्छ भन्ने प्रश्न उठेको छ । समितिको स्वरूप हेर्दा छानबिन निष्पक्ष रुपमा हुनेमा शंका गर्ने ठाँउ रहेको छ । खासगरी समितिले गृहमन्त्री रवि लामिछानेलाई पत्र काटेर बयानका लागि बोलाएमा उनी नैतिक संकटमा पर्नेछन् । त्यस्तै समितिले दोषी देखाएमा उनको पद नै जाने देखिन्छ । यसका लागि समितिको तीन महिनाको कार्यकाल रहेकाले तत्काल सरकारका लागि असर भने पर्ने छैन ।
समग्रमा राजनीतिक घटनाक्रमले अहिलेको सत्ता गठबन्धन लामो समय टिक्न नसक्ने देखिएको छ । गठबन्धनमा कटिबद्ध नेताहरू नहुनु, दलहरूबीच अविश्वास रहनु र हरेक दल तथा नेताहरू सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने प्रवृतिले यो सत्ता गठबन्धन अविश्वासको भुमरीमा परेको देखिन्छ ।
आज लोकतन्त्र दिवस

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोली

रघुजी पन्त शिक्षा मन्त्री बन्दै

प्रतिक्रिया