गोदावरीका मेयर, उपमेयर, प्रशासकीय अधिकृत र राजश्व अधिकृत निलम्बनमा

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार आयोगले मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, नगरपालिकाका राजश्व शाखा प्रमुख श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सन र सोका सञ्चाक रवि महर्जन र सप्तपथ निर्माण कम्पनी र सञ्चालक मदन केसी, निराकार ढुङ्गा रोडा उद्योग र सञ्चालक मधुसूदन डोटेल, मछिन्द्रनाथ मल्टिपर्पोज र सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग र सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग र सञ्चालक वीरेन्द्र महर्जन, माली निर्माण सेवा र सञ्चालक प्रकाश मालीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरुले २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ राजश्व चुहावट गरेको आरोप छ ।
आयोगले दुई वर्ष लगाएर गरेको अनुसन्धानमा आर्थिक वर्ष २०७९/८० मा प्रति घनफिट ९ रुपैयाँभन्दा बढी राजस्व दर तोकेर उठाउनुपर्नेमा २ रुपैयाँ २५ पैसा मात्र उठाएको पाइएको छ । एक घनफिट बराबर ६ रुपैयाँ ७५ पैसा राजस्व राज्य कोषमा जम्मा हुनुपर्नेमा मिलेमतोमा भ्रष्टाचार भएको दाबी अख्तियारको अभियोग पत्रमा गरिएको छ ।
त्यसैगरी नेपाल सरकारले प्राप्त गर्ने मूल्य अभिवृद्धि कर (भ्याट), बागमती प्रदेश सरकारले प्राप्त गर्ने ४० प्रतिशत कर र गोदावरी नगरपालिकाले ६० प्रतिशत राजस्व गुमेको अभियोग पत्रमा उल्लेख छ। तर, नगरपालिकाले २५ प्रतिशत मात्र राजस्व तोकेर त्यसमा पनि १० प्रतिशत छुट दिएर व्यवसायीकै पक्षमा निर्णय गरेको र यो कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको अभियोग पत्रमा उल्लेख छ।
कानुनले तोकेभन्दा कम दरमा उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । ५ वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको दाबी गरेको छ ।
दोस्रो कार्यकालमा निर्वाचित भएका मेयर उपमेयर लगायत अन्य सरकारी कर्मचारीहरू सोमबारबाटै निलम्बनमा परेका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम मेयर, उपमेयर, प्रशासकीय अधिकृत र मुद्दा दायर भएका सबै कर्मचारी निलम्बनमा परेका छन् ।
योसँगै नगरपालिका प्रमुख, उपप्रमुख ,लेखालगायतका केही शाखा हालका लागि रिक्त भएको छ । मेयर र उपमेयर नभएपछि गोदावरी नगरपालिका कसरी सञ्चालन हुन्छ अन्योल बढेको छ । उनीहरू दुवै काँग्रेसबाट निर्वाचित भएका हुन् ।
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

बुधबारदेखि कान्तिलोकपथ चार दिन बन्द हुने

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

दूध अभावले ‘चितवन मिल्क’ बन्द
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

प्रतिक्रिया