आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

कार्यक्रममै प्रधानमन्त्री ओली र गोल्छाबीच दोहोरी

स्रोतसाधन कम भए पनि सरकार मनको गरिब छैन : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको क्षमता अनुसार कोरोना महामारी प्रभावित उद्यम तथा व्यवसायलाई सहयोग गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभामा बोल्दै उनले राज्यसँग नभएको क्षमता अनुसारको सहयोग अपेक्षा नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले विकसित राष्ट्रसरह नेपालले सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । ‘निजी क्षेत्रका मित्रहरुलाई लाग्दो हो, अन्य विकसित मुलुकले कोभिड-१९ बाट प्रभावित उद्योगव्यवसायलाई पुनर्स्थापना गराउन सहयोग गरिरहेका छन् । हाम्रो सरकारले केही गरेन वा गर्दैन भन्ने होइन, क्षमता अनुसार हामी सहयोग गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं,’ प्रधानमन्त्रीले भने, ‘सरकारको मनको गरिब नभए पनि पर्याप्त स्रोतसाधनमा गरिब छ ।’

उनका अनुसार गत आवमा आर्थिक वृद्धिदर ८.५ प्रतिशतले हुने अनुमान गरिएकोमा करिब शून्य प्रतिशत को हाराहारीमा पुग्यो । प्रधानमन्त्रीले ठूला उद्योग, व्यवसाय आफैं पुनर्स्थापना हुनसक्ने भन्दै साना उद्यम, व्यवसायलाई सहयोग गर्ने बताए । यद्यपि उनले राहत र प्रोत्साहन माग्दा सरकारको स्रोतसाधन र क्षमता हेर्न सरकारलाई सुझाए ।

प्रधानमन्त्रीभन्दा अघि बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित अध्यक्ष शेखर गोल्छाले सरकारले महामारी प्रताडित व्यवसायको राहत र पुनर्स्थापनाका लागि सरकारले केही नगरेको आरोप लगाएका थिए । गोल्छाले पर्यटन र साना तथा मझौला व्यवसायको निरन्तरताको लागि घोषणा गरिएको कोषको कार्यविधि नै पनि आर्थिक वर्ष सुरु भएको चार महिनापछि आएको भन्दै सरकारप्रति कटाक्ष गरेका थिए ।

गोल्छाको अभिव्यक्तिलाई प्रत्युत्तर दिदैँ प्रधानमन्त्रीले महासंघको साधारणसभामा कोभिड-१९ र अर्थतन्त्रको सन्दर्भमा गहन छलफल हुनुपर्ने उल्लेख गरे । छलफलबाट प्राप्त निष्कर्षले उद्योगव्यवसायीको समस्या समाधानमा सहयोग पुग्‍ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट निजी क्षेत्र र सरकार दुवै पक्षले साझा समस्या झेलिरहेकाले संयुक्त प्रयासबाट मात्रै समाधान निकाल्न सकिने बताए । ‘हामी साझा समस्या भोगिरहेका छौं, संयुक्त प्रयासबाटै हल गर्न सक्छौं । स्थानीय, प्रदेश सरकार, संघ र निजी क्षेत्रका विभिन्न तहको साझा प्रयासबाट सम्भव छ,’ उनले भने ।

देशको अर्थतन्त्र उठाउन निजी क्षेत्रको भूमिकामा नीति निर्माण र व्यवहारिक तहमा उद्योग वाणिज्य महासंघको भुमिका प्रशंसायोग्य रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । महासंघको साधरणसभाका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले सरकारले दलाल पुँजीवादलाई बढावा दिएको आरोपको पनि खण्डन गर्न भ्याए । ‘सरकारले दलाल पुँजीवादलाई प्रशय दियो भन्ने भ्रमपूर्ण र त्रसित बनाउने अभिव्यक्ति सुनेर निजी क्षेत्र सशंकित हुनुपर्ने छैन । सरकारलाई कुनै उद्योगी व्यवसायी मेरो-तेरो भन्ने छैन,’ प्रधानमन्त्रीले भने, ‘सबै उद्यमी राष्ट्रका समान सम्पत्ति हुन् । यति हो आग्रह गर्छ, कारोबार सफा होस् । स्वच्छतामा साथ अघि बढ्न सरकारले सहयोग गर्छ ।’

ओलीले उत्पादन र रोजगारीका लागि स्वदेशी सँगै विदेशी पुँजी परिचालन गर्न आवश्यक रहेको बताए । ‘हाम्रा व्यवसायीले सामान बेच्न डिपार्टमेन्टल स्टोर खोलेका छन्, देशको उत्पादन केही छैन,’ प्रधानमन्त्रीले भने, ‘मुलुकमै उत्पादनको बलियो आधार बनाएर मात्र हामी सबल र समृध्द हुनसक्छौं ।’ 

र, यो पनि
- ‘कोभिडविरुद्धको प्रतिकार्यमा निजी क्षेत्र र सरकार सहकार्य गर्नुपर्छ’
- व्यक्तिवादी अभ्यासले महासंघमा समस्या देखिएको हो, अब समाधान हुन्छ- अन्जन श्रेष्ठ,  वस्तुगत समूहबाट उपाध्यक्षका उम्मेद्‍वार
शेखरजीहरूलाई अप्ठेरो नलागोस् भन्‍ने मेरो कामना छ :चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षको उम्मेद्‍वार
कसैलाई दोष लगाउनुअघि आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ :  किशोर प्रधान, वरिष्ठ उपाध्यक्षको उम्मेद्‍वार