उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

पर्सा - मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेस प्रदेश दोस्रो स्थानमा छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार मधेस प्रदेशमा विद्युत् चुहावट १५ दशमलव २९ प्रतिशत रहेको छ ।
सबैभन्दा धेरै विद्युत् चुहावट हुने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । सो प्रदेशमा विद्युत् चुहावट २१ दशमलव ७९ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सातै प्रदेशमध्ये मधेस प्रदेश विद्युत् चुहावटमा दोस्रो स्थानमा परेको बताए ।
‘सातवटै प्रदेशमा हुने विद्युत् चुहावटमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुने गरेको छ । कर्णालीमा हुने विद्युत् चुहावट प्राविधिक कारणले भएको हो’, उनले भने, ‘मधेस प्रदेश दोस्रो धेरै विद्युत् चुहावट हुने स्थानमा पर्नुको कारण गाउँगाउँमा लुकीछिपी विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ ।’
प्रादेशिक कार्यालय प्रमुख ठाकुरले मधेस प्रदेशमा सर्वसाधारणले विद्युतको पोलबाट सोझै हुकिङ गरेर, मिटरबाट र सिँचाइका लागि जडान गरेको लाइनबाट धेरै विद्युत् चोरी हुने गरेको बताए ।
‘हामीले गत आवमा मात्रै विद्युत् चुहावटमा संलग्न दुई हजार छ सय ५६ जनालाई समातेर कारबाही गरेका छौँ’, उनले भने, ‘जनचेतनाको अभावले पनि मधेस प्रदेशमा विद्युत् चुहावटका घटना धेरै हुने गरेका छन् ।’
मधेस प्रदेशमा प्राधिकरणका २३ वटा वितरण कार्यालय छन् । प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार मधेस प्रदेशमा आव २०७७/७८ मा विद्युत् चुहावट १६ दशमलव ५४ प्रतिशत रहेको थियो । आव २०७८/७९ मा भने १४ दशमलव १७ प्रतिशतमा झरेको थियो ।
तर, आव २०७९/८० मा विद्युत् चुहावट १३ दशमलव ७९ प्रतिशतमा सीमित भएको थियो । त्यस्तै आव २०८०/८१ मा भने विद्युत् चुहावट केही प्रतिशत बढेर १५ दशमलव २९ प्रतिशतमा पुगेको छ । प्राधिकरणका अनुसार कोशी प्रदेशमा विद्युत् चुहावट नौ दशमलव ८७ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा विद्युत् चुहावट पाँच दशमलव ६० प्रतिशत चुहावट रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा विद्युत् चुहावट सात दशमलव ६७, लुम्बिनी प्रदेशमा आठ दशमलव ५९ र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५० प्रतिशत रहेको छ ।
रासस

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया